समानुपातिक बिज्ञापन प्रणाली र क्लीन फिड लागु हुन्छ : मन्त्री बास्कोटा

385

समानुपातिक बिज्ञापन प्रणाली र क्लीन फिड लागु हुन्छ : मन्त्री बास्कोटा

बुटवल, ८ भदौ । सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बास्कोटाले सरकारले क्लीन फिड र समानुपातिक विज्ञापन प्रणाली लागु गराएरै छाड्ने बताउनु भएको छ । उहाँले एक वर्ष भित्र विदेशी च्यानलका टेलिभिजनमा क्लीनफिड लागु हुने बताउनुभयो । नेपाल प्रेस संगठनले आईतबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बास्कोटाले क्लीनफिड लागू हुँदा विज्ञापन बजार ८ अरबले बढ्ने दाबी गर्नुभयो ।

उहाँले मिडिया सम्बन्धी विधेयक समितिबाट पारित भैसकेको भन्दै सो विधेयक अब संसोधन नहुने बताउनुभयो । सरकारले मिडियालाई नियन्त्रण गर्ने नभई नियमन मात्रै गर्ने बताउदै उहाँले त्यसैका लागि सरकारले मिडिया सम्बन्धी नयाँ कानून ल्याउन लागेको उल्लेख गर्नुभयो । मन्त्री बास्कोटाले कार्य सम्पादन सम्झौता पश्चात सचिवको सरुवाले मन्त्रालयको कामकाज प्रभावित नहुने दाबी समेत गर्नुभयो ।

यसैबिच मन्त्री बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिनुभएको छ । सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताउनुभयो । उहाँले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारी सहित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।

उहाँले नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अगाडि बढेकाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि सरकारले नछाड्ने बताउनुभयो । उहाँले देश समृद्धिको दिशामा अगाडि बढेको उल्लेख गर्दै देशलाई अगाडि बढाउने कि यथास्थितिमा राख्ने भन्ने सबै हात कर्मचारीसँग भएको बताउनुभयो । कर्मचारीका हकहितमा सरकारले काम गरिरहेकाले सरकारको समृद्धिको यात्रालाई सफल बनाउने मुख्य काम कर्मचारीको भएको बताउनुभयो ।

देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको भन्दै उहाँले पाँच वर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने बताउनु भयो । ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने दिशामा सरकार अगाडि बढेको उहाँको भनाइ थियो । उहाँले जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहेको उल्लेख गर्दै गरीबी र समाजमा व्याप्त कूरीतिको अन्त्य गर्न सरकार लागिरहेको बताउनुभयो ।