कमजोरी लुकाउने अनेक बहाना बन्छन् : संयोजक मिश्र

560

कमजोरी लुकाउने अनेक बहाना बन्छन् : संयोजक मिश्र

बुटवल, ८ भदौ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरुको अभिव्यक्ति आफ्ना कमिकमजोरी ढाकछोप गर्ने प्रयासको भएको बताउनु भएको छ । उहाँले यस्ता अनेक बहाना बन्ने पनि बताउनु भयो । उहाँले गणतन्त्रमाथि अरु कसैबाट नभएर दलका नेताहरुको असक्षमताका कारण खतरा उत्पन्न हुन सक्ने दावी गर्नुभयो ।

आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरुको अभिव्यक्तिलाई ‘नाच्न नजान्ने आगन टेढो’ को संज्ञा दिँदै राजा र राजतन्त्रवादीहरुको गलत क्रियाकलापका कारण राजतन्त्र अन्त्य भएको भन्दै उहाँले बर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरुका कमि कमजोरीका कारण गणतन्त्र खतरामा पर्न सक्ने औँलयाउनु भयो ।

पुराना राजनीतिक दलहरुले जनतालाई राजनीतिक मायाजालमा पारेर राखेको भन्दै संयोजक मिश्रले जनता पुराना दलको राजनीतिक माया जालबाट बाहिर ननिस्किएसम्म मुलुकको समृद्धि सम्भव नभएको जिकिर गर्नुभयो । दुई तिहाई बहुमतको सरकार बनेपछि जनता मुलुक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने बिश्वासमा रहे पनि मुलुक स्थायित्व र समृद्धितर्फ एक कदम पनि अगाडी बढ्न नसकेको भन्दै उहाँले अब जनताले आफ्नो मन र मत बदल्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

पुराना दलहरुबबाट मुलुकको समृद्धि सम्भव नभएको भन्दै उहाँले साझा पार्टीसँग मुलुकको समृद्धिको स्पष्ट खाका रहेको दाबी गर्नुभयो । संयोजक मिश्रले आफ्नो पार्टी सरकारको नेतृत्वमा पुगे २०४६ साल पछिका राजनीतिक दलका नेताहरुको सम्पत्ति छानबिन गर्ने र पार्टीगत रुपमा खोलिएका कर्मचारी संगठन खारेज गर्ने बताउनु भयो ।

रवि लामिछानेको समर्थनमा भैरहेका प्रदर्शन मुलुकमा कानूनी राजप्रति जनताको अबिस्वासको संकेतको रुपमा आफुले लिएको बताउनु भयो । कसैको बिरोध र समर्थनमा नारा जुलुस गर्न पाउनु जनताको लोकतान्त्रिक अधिकार रहेपनि कुनै घटनाको बारेमा भिडबाट निर्णय गर्ने अधिकार भने कसैलाई नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले राजनीतिक दलहरुको कमि कमजोरीका कारण उत्पन्न समस्या जनताले बिस्तारै बुझ्दै जान थालेको भन्दै त्यो पिडा र आक्रोस कुनै दिन बिस्फोटको रुपमा देखा पर्ने बताउनु भयो ।