लुम्बिनी विश्वबिद्यालयले स्नातक तहमा कानुन बढाउने

561

लुम्बिनी विश्वबिद्यालयले स्नातक तहमा कानुन बढाउने

बुटवल, ९ भदौ । प्रदेश पाँचको बुटवलमा लुम्विनी बौद्ध विश्वविद्यालयको मातहतमा स्नातक तहमा कानुन विषय पढाई हुने भएको छ । प्रदेशमा कानुनी विषयमा स्नातक तहको अध्यापन गराउने विश्वविद्यालय नभएकाले प्रदेश सरकारको आर्थिक सहयोगमा त्यसको व्यवस्था गरिएको हो ।
लुम्विनी बौद्ध विश्वविद्यालयको गत साउन २९ गतेको विश्व विद्यालय सभाले कानुनमा स्नातक का अध्यापन गराउने निर्णय गरेको हो । लुम्विनी बौद्ध विश्वविद्यालय लुम्विनीले सोमवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई प्रदेश छ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले संघीय सरकारसंग प्रदेश विश्वविद्यालय स्थापना गर्ने विषयमा समेत कुरा भैरहेको जानकारी दिनुभयो ।
उहाँले प्रदेश सरकारले प्रदेशमा नयाँ विश्वविद्यालय स्थापना गर्न पहल थालेको समेत बताउनु भएको छ । उहाँले प्रदेश विश्वविद्यालय स्थापनाका लागि मन्त्रिपरिषदबाट निर्णय गरी काम अघि बढाएको जानकारी दिनुभयो ।
मन्त्री बरालले नयाँ विश्वविद्यायल स्थापना गर्ने सन्दर्भमा संघीय सरकारसंग सकभर अहिलेसम्म स्थापना भएका विश्वविद्यालयलाई समायोजन गर्ने गरी छलफल चलिरहेको बताउनु भयो ।
उहाँले लुम्विनी बौद्ध विश्वविद्यालयसंग स्नातक तहमा कानुन विषय पढाईका लागि प्रदेश सरकारले सहकार्यको हात अघि बढाएको भन्दै त्यसका लागि आवश्यक सहयोग उपलव्ध गराउने सहमति भएको जानकारी दिनुभयो ।
मन्त्री बरालले प्रदेश सरकारले नयाँ विश्वविद्यालय स्थापना गरेर सञ्चालन गरेपनि लुम्विनी बौद्ध विश्वविद्यालयसंगको सहकार्य भने जारी नै रहने बताउनु भयो ।
कार्यक्रममा लुम्विनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक राम आचार्यले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले विश्वविद्यालले सुरु गर्न लागेको कानुन विषयमा स्नातक तह सञ्चालनका लागि सहकार्य गर्ने सहमति भएको जानकारी दिनुभयो ।
५ वर्षे कानुन विषयको स्नातक तहका लागि विश्वविद्यालयले कूल ३ लाख ९७ हजार ६ सय २५ रुपैया शुल्क निर्धारण गरेको छ । विश्वविद्यालयले जम्मा ७० जनाको कोटा निर्धारण गरेको छ । कार्यक्रमा लुम्विनी बौद्ध विश्वविद्यालयका उपकुल पति ह्दयरत्न वज्राचार्य, डिन डा. माणिक रत्न शाक्य लगायतले विश्व विद्यालयले गरेका कामको वारेमा प्रकास पार्नु भएको थियो ।