समापन गरियो ऋषि पञ्चमी

1.3K

समापन गरियो ऋषि पञ्चमी

बुटवल, १७ भदौ । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधनासहित अघ्र्य दिएर यस वर्षको गणेश चतुर्थी (ऋषि पञ्चमी) व्रत समापन गरिएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस वर्ष तिथिको घटबढका कारण गणेश चतुर्थी व्रत सोमबार हरितालिका (तीज)कै दिन परेको थियो । सोमबार व्रत बसेका भक्तजनले आज बिहानै पूजासहित अघ्र्य दान गरेर व्रत समापन गरेका हुन् । यस अवसरमा आज पनि उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजासहित गणेशको जन्म महोत्सव मनाइएको छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । गणेशलाई लड्डु, दुबो, रातो फूललगायत चीज प्रिय मानिन्छ ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । यस वर्ष हरितालिका (तीज) व्रतको पारायण पनि भक्तजनले आजै बिहान गरेका छन् । भाद्र शुक्ल तृतीया र चतुर्थीका दिन पर्ने पर्व विधिपूर्वक समापन गरेका महिला भक्तजनले भने स्नान गरी ऋषि पञ्चमीको कर्म गर्न थालेका छन् । व्रत समापनका दिन मङ्गलबार परेकाले पनि गणेश मन्दिरमा भक्तजनको भीड देखिएको थियो । मङ्गल चतुर्थी पर्व नपरेका बेला पनि मङ्गलबार सबै गणेश मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।