‘न्याय परिषदको संरचना परिवर्तन नगरे न्यायको अनुभूति हुन सक्दैन’

1.3K

‘न्याय परिषदको संरचना परिवर्तन नगरे न्यायको अनुभूति हुन सक्दैन’

बुटवल, १९ भदौ । पिडितले न्यायको अनुभूति गर्नेगरी न्याय परिषदको संरचनागत परिवर्तनमा जोड दिईएको छ । वर्तमान न्याय परिषदको संरचनामा परिवर्तन नगरेसम्म सर्वसाधारणले न्यायको अनुभूति गर्न नसक्ने भन्दै पिडित तथा आम मानिसलाई न्यायको अनुभूति गराउनकालागि परिषदको संरचनागत परिवर्तनमा जोड दिईएको हो ।
उच्च अदालत बार एशोसियशन बुटवलको नवनिर्वाचित पदाधिकार सदस्यहरुलाई पद हस्तान्तरण तथा पदस्थापनाकालागि बुधबार साँझ बुटवलमा आयोजना गरिएको कार्यक्रममा न्यायिक क्षेत्रका व्यक्तिहरुले नै न्याय परिषदको संरचना सुधारमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै प्रदेश पाँच सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले जनतालाई न्याय दिलाउने काम न्यायालयकै भएकाले घटनाको बस्तुगत अध्ययन गरेर मात्रै न्यायिक निर्णय गर्न सके पिडितले न्यायको अनुभूति गर्न पाउने बताउनु भयो । उहाँले कानुन व्यबसायीहरुले व्यबसायसंगै न्यायलाई प्रमुख प्राथमिकता दिनुपर्ने भनाई राख्दै बारको साथमा आफू रहेको भनाई राख्नुभयो ।
त्यस्तै नेपाल बार एशोसियशनका महासचिव लिलामणी पौडेलले न्यायधिश नियुक्त गर्दा सरकारले राम्रालाई भन्दा पनि आफ्ना मान्छेलाई नियुक्ति गर्ने परिपार्टीले न्यायालयको गरिमा घटेको बताउनु भयो । उहाँले वर्तमान न्याय परिषदको संरचना परिवर्तन नगरेसम्म सक्षम र योग्य न्यायधिश नियुक्ति हुन नसक्ने भन्दै यहि संरचनाबाट हुने निर्णयले पिडितले न्यायको अनुभूति गर्न नसक्ने दावी गर्नुभयो ।
कार्यक्रममा उच्च अदालत तुलसीपुर बुटवल ईजलासका बरिष्ठतम न्यायधिश शेषराज सिवाकोटी, प्रदेश पाँचका मुख्य न्यायधिवक्ता ठाकुरप्रसाद डिसी, जिल्ला अदालत रुपन्देहीका न्यायधिश रमेशराज पोखरेल, वरिष्ठ अधिवक्ता कमलराज जोशी, शालिकराम वञ्जाडे, गोपाल पाण्डे (अल्छी), बुटवल बार एशोसियशनका पूर्व अध्यक्ष महेन्द्र पाण्डे, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख मोहनसागर बस्याल लगायतले न्यायालयमा काम गर्ने व्यक्तिहरुले निश्पक्ष भएर पिडितले न्याय पाउने गरी काम गर्नुपर्ने भनाई सहित नवनिर्वाचित बार नेतृत्वलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा निर्वाचन अधिकृत उच्च सरकारी वकिल कार्यालय बुटवलका उपन्यायधिवक्ता शिवशंकर चौधरीले नवनिर्वाचित अध्यक्ष पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराउनु भएको थियो । सपथग्रहण पश्चात नवनिर्वाचित अध्यक्ष जोगबहादुर खत्रीले बारको गरिमा र साखलाई उच्च बनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै निवर्तमान अध्यक्ष खडानन्द भण्डारीले बारले अंगाडी सारेका काममा आफ्नो पूर्ण सहयोग र समर्थन रहने बताउनु भयो । कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव गोविन्दप्रसाद मरासिनीले गर्नुभएको थियो ।