संविधान दिवस मनाउने निर्णय सहित मातहतका कमिटिलाई नेकपाको निर्देशन

313

संविधान दिवस मनाउने निर्णय सहित मातहतका कमिटिलाई नेकपाको निर्देशन

बुटवल, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालय रुपन्देहीको बिस्तारित बैठक संगठित सदस्यता नवीकरण गर्न प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजकको संयोजकत्वमा नवीकरण कार्यदल गठन गरेको छ । क्षेत्रीय समन्वय कमिटीका सचिव कार्यदलमा सचिवको रुपमा रहेका छन् भने सदस्यमा सबै जिल्ला कमिटीका सदस्यलाई राखिएको छ ।
कार्यदलले संगठित सदस्यता नवीकरण सम्बन्धी आवश्यक योजना र कार्यविधि विधान र नियमावली अनुसार बनाउने क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर २ का संयोजक तेजेन्द्र केसीले जानकारी दिनुभयो । बैठकले असोज ३ गते संविधान दिवस मनाउन आवश्यक तयारी गर्ने निर्णय गरेको छ । साथै संविधान दिवसको दिन आ–आफ्नो भेषभुषासहित बुटवलमा उपस्थित हुन बैठकले मातहतका कमिटीलाई निर्देशन समेत दिएको छ ।
त्यस्तै अहिले डेंगुले महामारीको रुप लिएको भन्दै यसको नियन्त्रणकालागि स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको क्षेत्रीय सचिव केसीले जानकारी दिनुभयो । बैठकलाई संबोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले पार्टीले सरकार र जनताबीच पुलको काम गरेर अघि बढ्नुपर्ने र सरकारले अघि सारेका महत्वपूर्ण विकासका योजनालाई जनता माझ लैजानुपर्ने बताउनु भयो ।
अर्का केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य दधिराम न्यौपानेले पार्टी संगठनलाई बलियो बनाउँदै जनपक्षीय काममा केन्द्रित हुन कार्यकर्ता पंक्तिलाई आग्रह गर्नुभयो । नेकपा जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सचिव निर्मल जिसीले समेतले धारणा राख्नुभएको थियो ।