सजिलो सहकारीमा अत्यावश्यक निर्णय गर्न कार्यसमितिलाई अख्तियारी

371

सजिलो सहकारीमा अत्यावश्यक निर्णय गर्न कार्यसमितिलाई अख्तियारी

बुटवल, २१ भदौ । बुटवल ९ मिलनचोकमा कार्यालय रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाले अत्यावश्यक निर्णय गर्नकालागि कार्यसमितिलाई अख्तियारी प्रदान गरेको छ । संस्थाको शनिबार बुटवलमा सम्पन्न ११ औं वार्षिक साधारण सभाले संस्थाले तत्कालै गर्नुपर्ने निर्णय गर्न साधारण सभा बस्न असम्भव हुने भएकाले त्यस्ता निर्णय लिनकालागि कार्यसमितिलाई अख्तियारी प्रदान गरेको हो ।
साधारण सभाले शेयर सदस्य बृद्धि गर्ने प्रस्ताव पारित गर्दै एक सदस्यले एक जना सदस्य ल्याउने नीति अंगाडी सारिएको संस्थाका अध्यक्ष रामराज पोखरेलले जानकारी दिनुभयो । २०६५ सालमा स्थापित उक्त सहकारी संस्थामा हालसम्म ५ सय सदस्य पुगेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तैगरी सहरकारीको कार्यक्षेत्र बिस्तार गरी रुपन्देही जिल्ला बनाउने प्रस्ताव समेत पारित भएको छ ।
गत वर्ष उक्त सहकारी संस्थाले ३ करोड २० लाख ४० हजार ६६४ रुपैंयाँ कर्जा लगानी गरेको छ भने ३ करोड २४ लाख ९ हजार ४७८ रुपैंया निक्षप संकलन गरेको जनाएको छ । सहकारीमा ४९ लाख ८८ हजार शेयर पुँजी संकलन भएको छ ।
साधारण सभामा बोल्दै बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख गुणाखर खनालले सहकारी आर्थिक बिकासको आधार भएको बताउँदै सहकारीलाई व्यबस्थित रुपमा सञ्चालन गर्न सके त्यसका शेयर सदस्यलाई फाईदा पुग्ने बताउनु भयो । उहाँले सहकारीले ऋण लगानी र असुली गर्ने मात्रै नभई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने पनि भनाई राख्नुभयो ।
साधारण सभामा सहकारीका शेयर सदस्यहरु सल्लाहकार गोबिन्द्रप्रसाद मरासिनी, रोडा ढुंगा उद्योग व्यबसायी संघ प्रदेश पाँचका अध्यक्ष गोपाल ज्ञवाली, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य बिक्रम खड्का, तारा केसी लगायतले भनाई राख्नुभएको थियो ।
त्यस अवसरमा शेयर सदस्यका छोराछोरी मध्येबाट गत एसईई परिक्षामा उत्कृष्ट भएकालाई पुरस्कार प्रदान गरिएको थियो । साधारण सभामा अध्यक्ष रामराज पोखरेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष अनिलराज शाक्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक बिनशलाल श्रेष्ठले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित भएको छ ।