‘सङ्घीयता स्थापित नहुँदासम्म पूँजी बजार विस्तार हुँदैन’

335

‘सङ्घीयता स्थापित नहुँदासम्म पूँजी बजार विस्तार हुँदैन’

खस्यौली, २१ भदौ । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सङ्घीयता स्थापना नहुँदासम्म पूँजी बजारको विस्तार हुन नसक्ने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ रुपन्देही र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा शनिबार बुटवलमा भएको ‘आर्थिक तथा शेयर बजारसम्बन्धी अभिमुखीकरण’मा उहाँले पूँजी बजारको विषयमा जनसहभागिता नभएको उल्लेख गर्दै एउटा किसान र मजदूरलाई शेयर बजारसँग सरोकार नरहेको बताउनुभयो । पत्रकारिताका विभिन्न विधामा विकास गर्न प्रदेश सरकारले काम गर्ने उल्लेख गर्दै उहाँले मुलुक सङ्घीयतामा गएपछि पत्रकारिता कमजोर भएको बताउनुभयो ।
धितोपत्र बोर्डलाई प्रदेशस्तरमा सञ्चालन गरिने भएको छ । बुटवलमा आयोजना भएको आर्थिक तथा शेयर बजारसम्बन्धी अभिमुखीकरणमा धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले सो जानकारी दिनुभएको हो । “मुलुक सङ्घीयतामा गएपछि धितोपत्र बोर्डलाई पनि सङ्घीयतामा लैजाने छलफल चलिरहेको छ”, उहाँले भन्नुभयो । उहाँले कहिलेसम्म विस्तार गर्ने निश्चित नभए पनि एक–एक वर्षको अन्तरालमा एउटा एउटा प्रदेशमा धितोपत्र बोर्डको विस्तार हुन सक्ने बताउनुभयो । अध्यक्ष कार्कीले प्रदेशस्तरमा गुणस्तरीय हिसाबले अघि बढ्ने उल्लेख गर्दै बैंकलाई ब्रोकर लाइसेन्स दिने काम पनि नरोकिने बताउनुभयो । धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बजारमा विभिन्न अवयव हुने उल्लेख गर्दै माग र आपूर्तिका आधारमा बजार सञ्चालन हुने बताउनुभयो ।
पत्रकार अच्युत वाग्लेले आर्थिक पत्रकारिता र शेयर बजारसम्बन्धी समाचार लेखनमा सहजीकरण गर्नुभएको थियो । सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष कमल तिवारीले प्रदेशमा ब्रोकर लाइसेन्स दिने संयन्त्रको विकास गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष यानेन्द्र जिसीले शेयर बजारको विषय बुटवलका पत्रकारका लागि नौलो विषय भएको बताउनुभयो । रासस