मदिरा व्यबसायी संघ रुपन्देहीमा शम्भु भट्टराई

707

मदिरा व्यबसायी संघ रुपन्देहीमा शम्भु भट्टराई

बुटवल, २२ भदौ । मदिरा व्यवसायी संघ रुपन्देहीको छैठौं अधिवेशनबाट अध्यक्षमा शुम्भुप्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । शनिबार मणिग्राममा सम्पन्न अधिवेशनबाट अध्यक्ष सहित सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । संघको प्रथम उपाध्यक्षमा कृष्ण गौतम, द्वितीय उपाध्यक्षमा पदमराज घिमिरे, महासचिवमा हिमालय भुसाल, सचिवमा बाबुराम ज्ञवाली र कोषाध्यक्षमा भागिरथ पाण्डे निर्वाचित हुनु भएको छ ।
कार्यसमिति सदस्यहरुमा सुजन श्रेष्ठ, जीवन पाण्डे, रामप्रसाद पन्थी, किशोर पन्थी, यादव पोखरेल, प्रकाश भुजेल, मुकुन्द पोखरेल, लोकराज भारती र गोविन्द भण्डारी सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक अर्जुन कार्कीले जानकारी दिनुभयो ।
यसैबिच साधारण सभामा बोल्ने मदिरा व्यबसायीले अवैधरुपमा उत्पादन र विक्रि वितरण हुने मदिरा नियन्त्रण गर्न माग गरेका छन् । पहाडी क्षेत्रमा ७० प्रतिशत र शहरी क्षेत्रमा ४० प्रतिशत अवैध मदिराको विक्रि वितरण हुने गरेको व्यवसायीको दावी छ । मदिरा व्यवसायी संघ रुपन्देहीको ११ औं साधारणसभा तथा छैठौं अधिवेशनमा बोल्ने मदिरा व्यबसायीहरुले अवैध मदिराका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परेको र राज्यको करोडौं राजस्व गुमेको भन्दै व्यवसायीले नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसंग माग गरेका हुन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले व्यवसायीका माग र समस्या छलफल र संवादबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान र कानूनको दायराभित्र रहेर व्यवसाय गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएपनि व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गर्नुभयो ।
मदिरा व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार श्रेष्ठले अवैध मदिराको निर्वाध विक्रि वितरणले राज्यलाई कर तिरेर व्यवसाय गर्ने व्यवसायी मारमा परेका र राज्यले वर्षेनी करोडौं रुपैयां राजस्व गुमाएको बताउनु भयो ।
मदिरा व्यवसायी महासंघका महासचिव तारानाथ ढुंगानाले देशभरका मदिरा उद्योग र व्यवसायबाट राज्यले कूल राजस्वको २२ प्रतिशत हिस्सा प्राप्त गरेपनि व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो ।
मदिरा व्यवसायी संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष शम्भु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष कृष्ण नेपाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसी, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, मदिरा व्यवसायी संघ रुपन्देहीका पुर्व अध्यक्ष खिमबहादुर खत्री, संघका अर्घाखांची अध्यक्ष लक्ष्मण कंडेल लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव हिमाल भुसालले गर्नुभएको थियो ।