सियारीमा मन्दिरको जग्गा बिदेशी संस्थालाई : निर्णय नसच्याए आन्दोलन गर्ने काँग्रेसको चेतावनी

462

सियारीमा मन्दिरको जग्गा बिदेशी संस्थालाई :  निर्णय नसच्याए आन्दोलन गर्ने काँग्रेसको चेतावनी

बुटवल, २३ भदौ । रुपन्देहीको सियारी गाउँपालिका सार्वजनिक जग्गामा बृक्षारोपणको नाममा भू–माफियाको चङ्गुलमा फसेर अनियमितता गरेको नेपाली काँग्रेसले जिकिर गरेको छ । गाउँपालिकाले भू–माफियासँग साँठगाँठ गरी चिल्हिया स्थित कित्ता नम्बर ४५ को ४–९–६ को जग्गा विशाल तामाङ्को नाममा दर्ता गराएको नेपाली काँग्रेस सियारी गाउपालिकाले आरोप लगाएको छ ।
गाउँकार्यपालिकाले जनविरोधी काम गरेको स्थानीयबाट गुनासो आएपछि नेपाली कांग्रेस सियारी गाउँपालिकाले सोमबार गाउँपालिकाको कार्यालय घेराउ गरेको हो । गाउँपालिकाको वडा नं. ३ मा रहको रामजानकी मन्दिर र संस्कृत मावि मटीहानी गुठीको नाममा रहेको करिब ६० विगाहा जग्गा विदेशी संस्थालाई गाउँपालिकाले दिन थालेको भन्दै कांग्रेसले नेतृत्व गर्दै सयौंको सख्यामा स्थानीयहरु गाउँपालिका घेराउमा पुगेका थिए ।
नेपाली कांग्रेस सियारी गाउँपालिकाका सभापति थानेश्वर घिमिरेले गाउँपालिकाका प्रमुख अयोध्या थारुलाई ज्ञापनपत्र बुझाउँदै गाउँपालिका नाताबाद, कृपाबादमा चलेको आरोप लगाउँनुभयो । उहाँले गाउँपालिकामा कर्मचारी नियुक्त गर्दा अध्यक्षले आफ्नो छोरालाई नियुक्त गरेको भन्दै नातापाता, परिवारवादलाई प्रोत्साहन गरिएको बताउँनुभयो । गाउपालिकालाई बुझाईएको ज्ञापन पत्रमा नदीजन्य पदार्थ उत्खननमा जनप्रतिनिधीकै मिलोमतोमा चोरी निकाषी गरिएको, गाउपालिकामा वाटो विस्तार गर्दा व्यक्तिको जग्गाको मुअव्जा दिनुपर्ने, परम्परागत रुपमा चलिआएका सडकहरुको मापदण्ड नपुगेकाको मर्मत तथा संरक्षण गर्नु पर्ने, गाउँपालिकाकाले वजेट विनियोजन गर्दा राजनैतिक आस्ताका आधारमा नभई न्यायोचित रुपमा गरियोस भन्दै मागलाई वेवास्ता गरेमा कडा आन्दोलन गर्ने चेतावनी पनि अध्यक्ष घिमिरेले दिनु भएको छ ।
सियारी गाउँपालिकाका अध्यक्ष थारुले जनताको हितमा काम गरेको बताउँनुभयो । सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकोले कार्यदल बनाएर सार्वजनिक जग्गा गाउँपालिकामा संरक्षण गरिएको उँहाले बताउँनुभयो । कांग्रेसले आरोप लगाए जस्तो नभएको उहाँले बताउँदै प्रतिस्प्रर्धाबाटै नै कर्मचारी गाउँपालिकामा भर्ना गरिएको बताउँनुभयो । गाउँपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएपछि नेपाली कांग्रेसले विरोधसभाको आयोजना गरेको थियो ।
गाउँपालिकाले बजेट वितरण गर्दा पक्षपात गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले औल्याएका छन । गाउँपालिकाको मनपरी जनतालाई मान्य नहुने र जनताको माग सम्बोधन नभए ओन्दोलन गर्ने उनिहरुले चेतावनी दिएका छन् । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य बुद्धिराम हरिजन, महाधिवेशन प्रतिनिधि जसवन्त कँुवर, पूर्व गाविस अध्यक्ष रंगनाथ गुप्ता, विष्णु बायिना, फोरमका नेता मोहनलाल यादब नेपाली काँग्रसका क्षेत्रीय सचिव गोपाल पाण्डे लगायतले गाउँपालिकामा भएको अनियमितताको निश्पक्ष छानविन हुनुपर्ने माग गर्नुभयो ।