बाल्यकालमै दुबै हात गुमाएकी रुपा सबैको प्रेरणा

919

बाल्यकालमै दुबै हात गुमाएकी रुपा सबैको प्रेरणा

सबिता टण्डन/
बुटवल, २६ भदौ । अहिले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा बस्दै आएकी रुपाले अक्षर चिन्दै गर्दा दुबै हात गुमाईन । नर्सरीमा पढ्दै गर्दा कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं. ३ धनकौलीकी रुपा रौतारलाई करेन्ट लाग्यो । तीन वर्षकी रुपाको उपचार गरियो तर दुबै हात काट्नु पर्यो ।
हात काटेपछि पढ्नकालागि बिद्यालय त गईन तर बिद्यालयले अपांगता भएको बिद्यालयमा पढ्नकालागि सुझाव दिँदै पढ्दै गरेको बिद्यालयबाट बिदा गरिदियो । आफूले पढ्दै गरेको बिद्यालयमा निरन्तर पढ्न नपाएपछि अरु बिद्यालय चाहार्दै दुई वर्ष बिताईन् रुपाले ।
पछि बुटवलको दीप बोर्डिङ्मा भर्ना त पाईन् तर उनलाई लेख्न पढ्न भने त्यति सहज थिएन । बिद्यालयले पढाउन चाहेपनि दुबै हात नभएकाले मुखमा कलम च्यापेर लेख्थिन्, बिस्तारै खुट्टाका औलाले कलम समातेर लेख्न थालिन् । शुरुमा मुखले अनि खुट्टाले लेख्दा उनलाई धेरै गाह्रो भयो । ‘लेख्दा खुट्टा निकै दुख्थ्यो’– उनी सम्झिन्छिन् ।
तर उनले कत्तिपनि हरेस खाईनन् । लेखाई निरन्तर अंगाडी बढाईन, खुट्टाका औंलाले नै बिस्तारै ल्यापटपमा लेख्न थालिन । अहिले उनी दीप बोर्डिङमै कक्षा ९ मा अध्ययनरत छन् । उनको मेहनत, लगनशिलता र अथक प्रयासका कारण अध्ययनसंगै गायन क्षेत्रमा समेत अब्बल भएकी छन् ।
रुपाले अहिले बुटवल, पोखरा, धनगडी लगायतका ठाउँहरुमा पुगेर बिभिन्न कार्यक्रममा गीत प्रस्तुत गर्ने अवसर पाएको र उनको स्वरलाई धेरैले मन पराएको आमा ईन्द्रकला रौतारले बताउनु भयो । उनको मेहनत, लगनशिलता र प्रतिभाको कदर गर्दै रोट्रयाक्ट क्लव अफ बुटवल रामापिथेकसले सम्मान गरेको छ । क्लवको चौथो पदहस्तान्तरण कार्यक्रममा शनिबार पाँच हजार नगद तथा प्रशंसा पत्रसहित सम्मान गरेको क्लवले जनाएको छ ।
उनलाई सम्मान गर्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले रुपाको मेहनत र लगावका कारण अपांगता भएर पनि सवलाङ्गले भन्दा राम्रो प्रतिभा प्रदर्शन गरेको भन्दै अपांगता भएका व्यक्तिलाई सम्मान गरेर प्रोत्साहन गरेकामा क्लवलाई धन्यवाद प्रदान गर्नुभयो ।
बुटवलमा भएको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष साजन भण्डारीले अपांगता भएका व्यक्तिलाई अझै पनि समाजले स्वीकार गर्न नसकेको औंल्याउँदै त्यसलाई चिर्नकालागि पनि सामाजिक संघसंस्थाहरुले प्रोत्साहनका काम गर्न आवश्यक रहेको बताउनु भयो । ‘रुपाको दुबै हात नभएर के भयो त ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो–‘उनले खुट्टाले भएपनि सवलाङ्गले भन्दा धेरै राम्रो गरेकाले प्रोत्साहन र अरुका प्रेरणाकालागि पनि सम्मान गरेका हौं ।’
क्वलका नवनिर्वाचित अध्यक्ष दिपक चापागाईले क्लवले अंगाडी सारेका कामलाई निरन्तरता दिँदै अझै रचनात्मक कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।