स्रोत नखुलेको रकम सहित दुई भारतीय नागरिक भैरहवामा पक्राउ

484

स्रोत नखुलेको रकम सहित दुई भारतीय नागरिक भैरहवामा पक्राउ

बुटवल, २६ भदौ । प्रहरीले रुपन्देहीको भैरहवाबाट अवैध रकम सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ वाईपास सडकमा चेकजाँचका क्रममा भारत नौतनवाका २४ वर्षीय रितेशकुमार मधेसिया र सोही ठाउँका २४ वर्षीय निरजकुमार अग्रवाललाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंकास्पद देखिएकाले चेकजाँचका क्रममा उनीहरुलाई स्रोत नखुलेको अवैध रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक बिरेन्द्रबहादुर शाहीले जानकारी गराउनु भयो । उनीहरु भारतीय नं. प्लेट युपी ५६ वाई ७०४९ नम्बरको मोटर साईकलमा सवार थिए ।
उनीहरुको साथबाट प्रहरीले ३८ लाख ९३ हजार १ सय रुपैंया नेपाली नोट, १ लाख ६४ हजार भारतीय नोट, बिभिन्न व्यक्तिका नाममा काटिएका बिभिन्न बैंकका २७ लाख ४८ हजार ७ सय रुपैंया बराबरको १० थान चेक, बिभिन्न बैंकका ५ थान चेकबुक, भारतीय तथा नेपाली बैंकका ७ थान एटिएम तथा उनीहरु सवार मोटरसाईकल बरामद गरेको प्रवक्ता शाहीले जानकारी गराउनु भएको छ ।