सहकारीका माध्यमबाट महिला उद्यमशिलतामा जोड

471

सहकारीका माध्यमबाट महिला उद्यमशिलतामा जोड

बुटवल, २७ भदौ । महिला उद्यमशिलता बिकासकालागि सहकारीहरुले महिलालाई समेटेर उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिईएको छ । रुपन्देहीको बेलबासमा सञ्चालित परावर्तन सामाजिक उद्यमी सहकारी संस्थाको शुक्रबार सम्पन्न साधारण सभामा बोल्ने वक्ताहरुले महिलामा उद्यमशिता बिकास गराउन सके सामाजिक रुपान्तरणमा महिलाको भूमिका अझै बढाउन सकिने बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेशनल को–अपरेटिभ एलाईन्स रुपन्देहीका अध्यक्ष रामकृष्ण खाँणले उद्यमशिता बिकासकालागि बिषयगत सहकारीहरुले महिलालाई समेटेर उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले महिलालाई अधिकार प्रत्यायोजन गर्ने मात्रै भन्दा पनि क्षमता अभिबृद्धिमा पनि जोड दिनुपर्ने र त्यो काम सहकारीबाट सुरु भए अझै राम्रो हुने उल्लेख गर्नुभयो ।
त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष नारायणप्रसाद पुनले मुलुकको आर्थिक बिकासकालागि सरकारले नीजि, सहकारी र सरकारी तीन खम्बे अर्थनीति अवलम्बन गरेकाले सहकारीको जिम्मेवारी बढी भएको औंल्याउनु भयो ।
बतत तथा ऋण सहकारी संघका प्रदेश सचिव बसन्तप्रसाद ढकालले सहकारीले उत्पादन मुलुक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहले बनाउने ऐन कानुनमा पनि एक रुपता हुनु पर्नेमा ध्यानाकर्षण गराउनु भयो । उहाँले स्थानीय सरकारले सहकारीलाई प्रवद्र्धन गर्ने खालका कार्यक्रम सञ्चालन गर्न पनि सुझाव दिनुभयो ।
सहकारी संस्थाकी अध्यक्ष नमकला वेलबासेको अध्यक्षतामा भएको साधारण सभामा बुटवल उपमहानगरपालिकाकी बिष्णुकुमारी शर्मा, सीर्जना खनाल, लक्ष्मी भण्डारी लगायतले धारणा राख्नुभएको थियो ।