बुटवल, ३१ भदौ । राष्ट्रिय पुनर्जागरण अभियानका संयोजक भरत दाहालले मुलुकमा वैदेशिक हस्तक्षेप बढ्दै गएको औंल्याउँदै नागरिक समयमै सचेत नभए मुलुक ठूलो दुर्घटनामा पर्ने सम्भावना रहेको बताएका छन् । मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बिदेसिको इसारामा देशमा निजीकरण र विभिन्न एजेण्डा ल्याउँदै मुलुकलाई चक्रव्यूहमा पारिएको बताउनु भयो ।
मुलुकमा देखा परेको संकट नेपाल र नेपालीद्धारा सिर्जित संकट नभएर बिदेशीहरुले थोपरी दिएको भन्दै उहाँले बिदेशीहरुले बिभिन्न एजेन्डामा नेपालीहरुलाई लडाउदै आएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘पञ्चायतदेखि हालसम्म विभिन्न एजेण्डामा आन्दोलन भए, कैंयौं पटक सत्ता फेरियो, मन्त्री फेरिए, दुई–तिहाइको सरकार पनि बन्यो, तर देशमा सुशासन र स्थायित्व भएन ।’
उहाँले राज्य पुर्नसंरचनाका नाममा विखण्डन भइरहेको बताउँदै संघीयता नै सर्वस्व नभएको जिकिर गर्नुभयो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बाबुराम भट्टराईलाई इंगित गर्दै उहाँले भन्नुभयो–‘एक जनाले पुनः आदीबासी जनजाती, मधेसी सबै मिलेर अधिकारका लागि आन्दोलन गर्न पर्छ भन्दैछन् अर्काले संविधान दिवस नमनाउने बताएका छन् ।’
अभियानका संयोजक दाहालले निजिकरण, बैदेशिक रोजगार, सहयोग जस्ता गतिविधिले देशमा वैदेशिक हस्तक्षेप बढेको बताउनु भयो । उहाँले जुनसुकै सरकार र एजेण्डा भएपनि मुख्य एजेण्डा राष्ट्रियता र केन्द्रीय शक्ति हुनुपर्ने बताउनु भयो । जबसम्म राज्य सञ्चालन सम्बन्धी मूल नीति र शक्ति बन्दैन तबसम्म मुलुकलाई खतरा रहेको उहाँले औंल्याउनु भयो ।
उहाँले बुधबार बुटवलमा हुने अन्तरक्रियामा विस्तृत जानकारी गराउने बताउँदै अभियानको पहिलो चरण चितवनमा सम्पन्न गर्ने र पुनःतिहारपछि पश्चिमतर्फ निरन्तरता दिने बताउनु भयो । अभियानले बुधबार बुटवलमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
