बुटवल, ६ असोज । नेपाली काँग्रेसले सञ्चालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भोली मंगलबार सकिँदै छ । गत भदौ २४ गते बिपि जयन्तीदेखि सुरु भएको १५ दिने राष्ट्रिय जागरण अभियान अन्तरगत ३३० प्रदेश निर्वाचन क्षेत्रमा पार्टीले केन्द्रीय प्रतिनीधि खटाएको थियो । यस अवधिमा केन्द्रीय प्रतिनीधिहरु खटिएको निर्वाचन क्षेत्रमा केन्द्रीय निर्देशन अनुसारका गतिबिधिमा केन्दित भएका थिए ।
त्यस बिचमा उनीहरु क्षेत्र तथा वडा र टोल तहसम्मका पार्टीका नेता कार्यकर्तासंग पार्टीलाई सुदृण गर्न के गर्न सकिन्छ ?, पार्टी कसरी अंगाडी बढ्नु पर्छ भन्ने लगायतका सुझाव लिएको र प्राप्त सुझाव सल्लाह केन्द्रीय समितिमा लैजाने बताईएको छ । त्यस्तै पार्टीले निर्देशन गरे अनुसार पार्टीका संरचनाहरुलाई कसरी गतिशित गराउने, पार्टी कार्यालय कसरी सञ्चालन गर्न सकिन्छ जस्ता सुझाव सल्लाह दिईएको केन्द्रीय प्रतिनीधिहरुले बताएका छन् ।
यसैबिच नेपाली काँग्रेस रुपन्देहीले दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमको समापनमा सरकारका गतिबिधि बिरुद्ध बिरोध प्रदर्शन गर्ने तयारी गरेको छ । सरकारले राष्ट्रियतामा आँच आउने काम गरेको, महंगी, भ्रष्टाचार, अनियमितता, महिला हिंसा, बिकृति बिसंगतीका बिरुद्ध बिरोध प्रदर्शन गर्न लागिएको र यसलाई नेपाली काँग्रेसले शक्ति प्रदर्शनका रुपमा अंगाडी बढाईएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
भैरहवाको बुद्धचोकबाट सुरु हुने बिरोध प्रदर्शन मिलनचोक पुगेर बिरोध सभा गरिने छ । उक्त बिरोध प्रदर्शन कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री सीता गुरुङ् आउनु हुने नेपाली काँग्रेसले जनाएको छ । त्यस्तै उक्त कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्रमा खटिएको केन्द्रीय प्रतिनीधिहरु, पार्टीका नेताहरु सहभागि हुने छन् । उक्त कार्यक्रमलाई पार्टीको शक्ति प्रदर्शनका रुपमा लिएकाले सोही अनुसार जिल्लादेखि वडा तथा टोल तहबाट नेता कार्यकर्तालाई विरोध प्रदर्शनमा सहभागि हुनकालागि पार्टीले आह्वान गरेको छ ।
