हेलमेट प्रहार गरी दिनदहाडै लुटपाट

1.3K

हेलमेट प्रहार गरी दिनदहाडै लुटपाट

बुटवल, ९ असोज । रुपन्देहीमा दिन दहाडै हेलमेट प्रहार गरी लुटपाट भएको छ । विहिवार दिउँसो रुपन्देहीको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिस त्रिपाठीको साथमा रहेको छ लाख रुपैयाँ दुई जनाको संख्यामा आएका लुटेराले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रिलायन्स सिमेन्ट उद्योगको भैरहवास्थित कार्यालयबाट लुम्बिनी रोडमा रहेको उद्योगमा मोटरसाईकलमा जांदै गरेका त्रिपाठीलाई हेलमेटले टाउकोमा हानी रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । “रकम लुटिएको भन्ने जानकारी आउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो, तर अभियुक्त तत्कालै फरार भएकाले खोजी कार्य जारी छ”–उहाँले भन्नुभयो । यद्यपि प्रहरीले शंकास्पद दुईजना व्यक्तिलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेम थापाले जानकारी दिनुभयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरिरहँदा उक्त लुटपाट भएको हो । रुपन्देही जिल्लाको ओम सतीयामा यस अंगाडी बैंकबाट पैसा निकालेर घर जाँदैगर्दा ४० वर्षीय महेन्द्र कुर्मीलाई गोली हानी हत्या गरिएको थियो भने उनको साथमा रहेको नगद समेत लुटिएको थियो । जिल्लामा श्रीङ्खलावद्ध रुपमा चोरी तथा हत्याका घटना घटेपनि घटनामा संलग्नलाई प्रहरीले पहिचान तथा पक्राउ गर्न सकेको छैन ।