काठमाडौं, मंसिर । ‘नयाँ शक्ति’ले अभियान्ताहरुको तत्कालीन कार्यविभाजनसहित पहिलो चरणमा २ महिने अभियान सञ्चालन गर्ने भएको छ । राजधानीमा दुई दिनसम्म चलेको ‘नयाँ शक्ति निर्माण अभियान’को भेलापछि मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरि नेताहरुको तत्कालीन कार्यविभाजन र भावी योजना सार्वजनिक गरिएको हो ।
तत्कालीन कार्यविभाजन अनुसार अभियानको केन्द्रीय संयोजकत्व पूर्वप्रधानमन्त्री समेत रहेका नेता डा. बाबुराम भट्टराई दिइएको छ । यस्तै नयाँ शक्तिले पनि एमाओवादीले पहिलेदेखि नै प्रयोग गर्दै आएको राज्यसमितिको अवधारणामा नेताहरुको जिम्मेवारी तोकेको छ । ७ प्रदेशको सीमाङ्कनमा केही पक्षको असन्तुष्टि रहेकाबेला सोही सीमाङ्कन अनुसार कार्यविभाजन गर्नु उचित नहुने भन्दै तत्तकालका लागि एमाओवादीमा प्रयोग हुँदै आएको राज्य समितिकै अवधारणमा जिम्मेवारी बाँडफाड गरिएको अभियान्ता रामचन्द्र झाले बताए ।
केन्द्रीय संयोजक – डा. बाबुराम भट्टराई
किराँत–लिम्बूवान–कोचिला संयोजक – राजेन्द्र किराती
मिथिला–भोजपुरा संयोजक – रामचन्द्र झा
नेवा–ताम्सालिङ संयोजक – गंगा श्रेष्ठ
तमूवान–बाग्लुङ–म्याग्दी संयोजक – देवेन्द्र पराजुली
मगरात–अबध–थारुवान संयोजक – वामदेव क्षेत्री
भेरी–कर्णाली संयोजक – भक्तबहादुर साह
सेती–महाकाली संयोजक – नवराज सुवेदी
जबस–मोर्चा संयोजक – कुमार पौडेल
अन्तर्राष्ट्रिय संयोजक – हिसिला यमी
जातीय मोर्चा संयोजक – रामकुमार शर्मा
यससँगै नयाँ शक्तिले आजकै मितिदेखि २ मिहनासम्म पहिलो चरणको अभियान चलाउने भएको छ । जसमा मुख्यत: प्रचारात्मक, संगठनात्मक र आन्दोलनसँग सम्बन्धित विषयहरुमा केन्द्रित हुनेछ । अभियान सञ्चालनको व्यवस्थापनका लागि आवश्यक पर्ने गरी अभियन्ताहरुको प्रारम्भिक कार्यविभाजनसहित देशका सबै क्षेत्रहरुमा पुग्ने लक्ष्य राखिएको छ ।
साथै छलफलका वैचारिक, राजनीतिक र कार्यक्रमिक विषयको ब्यापक वहस सुरु गर्ने गरी तत्काल ९ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै दुई दिने ‘नयाँ शक्ति निर्माण अभियान’ उद्घाटन समारोह सम्पन्न भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिईयो । नयाँ शक्तिले अभियानमा कुनै न कुनै रुपमा सहभागी हुन आमनेपाली जनसमुदायसँग अपीलसमेत गरेको छ ।