बुटवल, २४ असोज । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिका दोभान स्थित सिद्धबाबा मन्दिर आसपासको सडकमा दुर्घटनामा परि ज्यान गुमाउनेहरुको आत्माको मुक्तिकालागि श्रीमद्भागवत पाठ पारायण सहित लक्ष्य दीप प्रज्वलन गरिँदैछ ।
गुल्मीको रुरु गाउँपालिका वडा नं. ५ पागाहा निवासी कृष्णप्रसाद ज्ञवालीको एकल प्रयासमा बुटवल–पाल्पा सडक निर्माणको समयदेखि हालसम्म सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको आत्माको मुक्तिको लागि नारायणबली, श्रीमद्भागवत पाठ पारायण तथा प्रार्थना र पितृ शान्तिकालागि लक्ष्य दीप प्रज्वलन गर्न लागिएको हो ।
कोजाग्रत पुर्णीमाको अंघिल्लो दिन अर्थात शनिबार गर्न लागिएको उक्त धार्मिक कार्यक्रममा त्यस सडकमा आफन्त गुमाएका, बौद्धिक, समाजसेवी तथा धार्मिक व्यक्तिहरुलाई उहाँले आमन्त्रण गर्नुभएको छ । यस कार्यक्रमको बारेमा जानकारी गराउनकालागि शुक्रबार बुटवलमा गरिएको पत्रकार सम्मेलनमा उक्त कार्यक्रममा कर्ता ज्ञवालीले चिडियाखोलादेखि दोभान सम्मको सडकमा दुर्घटनामा परेर ज्यान गुमाएकाहरुलाई लिईएको बताउनु भयो ।
‘दुर्घटनामा भएको मृत्युलाई अकाल मृत्युको रुपमा लिईन्छ । त्यसरी मृत्यु भएको व्यक्तिको आत्माले मुक्ति नपाएको पनि हुन सक्ने र त्यसैको कारणले पनि त्यस क्षेत्रमा दुर्घटना भईरहेको हो की !’ उहाँले भन्नुभयो–‘त्यसो भएको रहेछ भने ती आत्माको मुक्ति पनि हुने र संस्कृतिको पनि संरक्षण होस भन्ने उद्देश्यले नारायणबली गर्न खोजिएको हो ।’
एक दिने उक्त कार्यक्रममा १५ जना ब्राह्मणले पाठ पारायण गर्नेछन् । उक्त कार्यक्रमकालागि करिव १ लाख रुपैंया लाग्ने र त्यो खर्च आफैले व्यहोर्ने उहाँले जानकारी गराउने भयो । यद्यपी त्यस क्षेत्रमा दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारले सहयोग गर्न खोजेमा भने त्यो सहयोग स्वीकार गर्ने पनि उहाँले जानकारी गराउनु भयो ।