काठमाण्डौं, २५ असोज । चीनका राष्ट्रपति सी चिनफिङ सवार विशेष विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी नेपालको द्विदिवसीय राजकीय भ्रमणमा विशेष विमानबाट आउनुभएको हो ।
नेपालको दुई दिने राजकीय भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रपति सीलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गर्नुभएको हो । उहाँ एयर चाइन मार्फत नेपाल आउनु भएको हो । उहाँको स्वागतको लागि राष्ट्रपति भण्डारी विमानसम्म पुग्नु भएको थियो ।
सि भारतको चेन्नेइ भ्रमणपछि नेपाल आउनु भएको हो । उहाँलाई विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्यस्तै पन्चकन्याले उहाँलाई फूलमालाले स्वागत गरेका थिए । राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटलमा जाँदै हुनुहुन्छ ।
चीनका राष्ट्रपति सीलाई त्रिभुवन विमानस्थलदेखि उहाँ सवार हुने मार्गमा विभिन्न झाँकीसहित स्वागत गरिएको छ । सडकको दायाँबायाँमा सुरक्षाकर्मी तैनाथ गरिनाका साथै दुवै देशको झण्डा लिएर राष्ट्रसेवक कर्मचारी, युवा, विद्यार्थीलगायत सर्वसाधारण राष्ट्रपति सिको स्वागत गरेका थिए । उनीहरुले सीको सवारीमार्गमा कर्तल ध्वनिका साथ स्वागत गरेका हुन् ।
त्यसैगरी आजै साँझ साढे ६ बजे राष्ट्रपति भण्डारीसंग बिशेष भेटवार्ताको कार्यक्रम तय गरिएको छ ।
