ट्रमा दिवसमा सचेतनाकालागि अभिमुखिकरण

731

ट्रमा दिवसमा सचेतनाकालागि अभिमुखिकरण

बुटवल, ३० असोज । विश्व ट्रमा दिवसको अवसरमा रोटरी क्लब अफ बुटवल डाउनटाउनले ट्रमा सचेतना कार्यक्रम गरेको छ । यस क्षेत्रमा पहिलो पटक ट्रमा सेन्टर शुरु गर्न लागेको तिनाउ इन्टरनेशनल अस्पतालसंगको सहकार्यमा क्लबले ट्रमा सचेतना कार्यक्रम गरेको क्लबका निर्वाचित अध्यक्ष जबिन कक्षपतिले बताउनु भयो । विभिन्न घटनामा हाडजोर्नीलगायत आपतकालिन उपचार गर्न यस क्षेत्रमा ट्रमा सेन्टर नरहेको अवस्थालाई मध्येनजर गरेर अस्पताल सञ्चालन गर्न गरिएको अस्पतालका अध्यक्ष करुण खनालले जानकारी गराउनु भयो ।
त्यस अवसरमा ट्रमा सम्बन्धी विभिन्न तथ्यगत जानकारी दिंदै ट्रमारोग विशेषज्ञ डाक्टर योगेन्द्र अग्रहरीले हरेक नागरिकले यसका प्राथमिक सचेतनाका विषयमा जानकारी लिन जरुरी रहेको औंल्याउनु भयो । ट्राफिक सचेतनामा कमी हुनु, व्यवस्थित सडक नबन्नु, र नागरिकमा घटनापछिका उपचार पद्धति जानकारी नहुने लगायतका कारणले यसको संख्यामा बृद्धि भएको डाक्टर अग्रहरीले बताउनु भयो ।
सामाजिक संघसंस्थाको नेतृत्वमा रहने र आमनागरिकलाई यसबारे सचेतना दिन यसखालका कार्यक्रम संस्थाले निरन्तरता दिने सचिव मनोज भुसालले बताउनु भयो ।