बुटवल, १ कात्तिक । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ३ बैकुण्ठपुरमा महेन्द्रप्रसाद कुर्मीलाई गोली हानी हत्या गर्ने समुहको खोजिमा प्रहरी थियो । ओमसतीया गाउँपालिका पट्खौलीका ४२ वर्षीय कुर्मी श्रीमती बिजयलक्ष्मी र दुधे बालक सहित भैरहवाको हिमालयन बैंकबाट ५ लाख रुपैंया लिएर लु ९ प ८२३५ नम्बरको मोटरसाईकलमा गत भदौं २९ गते घर फर्किँदै थिए । रोहिणीको बैकुण्ठपुरमा पुग्दा भारतीय नम्बर प्लेटको मोटर साईकलमा आएका अपरिचित व्यक्तिले गोली हाने र कुर्मीको घटनास्थलमै मृत्यु भयो ।
घटनालगत्तै गोली हान्ने व्यक्तिले कुर्मीले ल्याएको ५ लाख लुटेर फरार भएका थिए । घटनाको अनुसन्धानको क्रममा प्रविधिको प्रयोग, बिभिन्न स्थानका सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीको भनाई, नेपाल तथा भारतका समेत बिभिन्न स्थानमा प्रहरीले शुक्ष्म अध्ययन गरि घटनामा संलग्न व्यक्ति र प्रयोग भएको मोटरसाईलक पहिचान गरेको थियो ।
अनुसन्धानकै क्रममा घटनामा संलग्न रहेका व्यक्तिहरुमध्ये एकजना नेपालतर्फ प्रवेश गर्दैछन् भन्ने बिशेष सुचनाको आधारमा जिल्लाका बिभिन्न स्थानमा बिशेष अनुसन्धान टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी गराउनु भयो ।
त्यसैक्रममा प्रहरीले घटनामा प्रयोग भएको पहिचान गरेको युपी ५३ डिबि ९९८३ को कालो रंगको पल्सर मोटरसाईकलमा आउँदै गरेको भारतको उत्तरप्रदेश जिल्ला गोरखपुर थाना कम्पियरगञ्ज मछरीका ४० वर्षीय मनिष हरिजन (चमार)लाई शुक्रबार राती सिद्धार्थनगर नगरपालिका २ स्थित मेउडिहवा फूलपुर भन्ने स्थानबाट पक्राउ गरेको हो । संगै प्रहरीले घटनामा प्रयोग भएको युपी ५३ डिबि ९९८३ नम्बरको भारतीय मोटरसाईकल समेत बरामद गरिएको प्रवक्ता खत्रीले जानकारी गराउनु भयो ।