बुटवल, २ कात्तिक । शुभलाभ बचत तथा ऋण सहकारी संस्था बुटवलको शनिबार सम्पन्न साधारण सभाले बिधान संशोधन प्रस्ताव पारित गर्नुका साथै संस्था मर्जरकालागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
साधारण सभाले परिवर्तित सहकारी ऐन, नियम तथा सहकारीको मापदण्ड र कानुनको परिधिमा रहेर गरिएको प्रस्ताव पारित भएको उक्त सहकारी संस्थाका सचिव बसन्तकुमार जोशीले जानकारी दिनुभयो । उक्त प्रस्ताव सञ्चालक समितिका तर्फबाट उपाध्यक्ष लालकाजी राजभण्डारीले प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तैगरी साधारण सभाले संस्था मर्जरकालागि उपयुक्त सहकारीको छनौट गर्न र मर्जर प्रकृयाकालागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तैगरी साधारण सभाले समयसापेक्ष कर्जा तथा बचत निक्षपको व्याजदर संशोधन गर्नकालागि पनि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको सचिव जोशीले बताउनु भयो ।
साधारण सभामा सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश शर्माले शेयर सदस्यको निधनमा प्रदान गर्दै आएको १० हजार रुपैंया राहत रकमलाई यो वर्षपनि यथावत राख्ने, २ लाख रुपैंया प्राप्त हुनेगरी शेयर सदस्यको दुर्घटना मृत्यु बिमालाई निरन्तरता दिने, सस्थाका शेयर सदस्य जेष्ठनागरिकको सम्मानकालागि धार्मिक तिर्थाटन (धार्मिक भ्रमण) कार्यक्रम, संस्थाका शेयर सदस्य सुत्केरी हुँदा प्रदान गर्दै आएको जनही २ हजार रुपैंयालाई निरन्तरता प्रदान गर्ने, शेयर सदस्यको स्वास्थ्य परिक्षणमा लाग्ने खर्चको ५० प्रतिशत रुपैंया सहकारीले व्यहोर्ने गरि स्वास्थ्य परिक्षण कार्यक्रम लागु पर्ने प्रस्ताव गर्नुभएको थियो । यी सबै प्रस्ताव साधारण सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।
संस्थाको ११ औं साधारण सभामा बोल्दै उक्त सहकारीका सल्लाहकार कलाधर घिमिरे, अमृतलाल श्रेष्ठ, नुमाकान्त चापागाई, संस्थापक अध्यक्ष तथा सल्लाहकार सहदेवमान श्रेष्ठ, प्राध्यापक चिरञ्जिवी देवकोटा, शेयर सदस्यहरु अनुपमा शर्मा, चुरामणी पन्थी लगायतले बोल्दै कृषि तथा उत्पादनशिल क्षेत्रको पहिचान गरेर त्यस क्षेत्रमा लगानी बढाउन सुझाव दिँदै सहकारीमा शेयर सदस्य बृद्धि तथा शेयर सदस्यको हित र संस्थाको नामलाई ध्यान दिएर मर्जर अध्ययन गर्न सुझाव दिनुभएको थियो ।
त्यस्तै उक्त सहकारी संस्थाले शेयर सदस्य बृद्धिगर्ने रणनीति सहित ५ जना सदस्य थप गर्ने शेयर सदस्यलाई आगामी साधारण सभामा सम्मान गर्ने नीति लिएको छ ।
त्यसै अवसरमा संस्थाका शेयर सदस्य जेष्ठ नागरिक बद्रिलाल श्रेष्ठ र सरस्वती पौडेल, कर्मचारी सुमित्रा ज्ञवाली तथा शेयर सदस्यका छोराछोरी मध्ये एसईई परिक्षामा ३ जिपिए भन्दा बढी अंक ल्याउनेलाई नगद सहित सम्मान गरिएको थियो । साधारण सभामा कोषाध्यक्ष ज्ञानबहादुर पुनले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन समेत सर्वसम्मतले पारित भएको छ ।



