बुटवल, ९ कात्तिक । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले लोकतन्त्रलाई समाप्त पार्न खोजेपनि कसैले नसक्ने दावी गर्नुभएको छ ।
नेपाली काँग्रेस रुपन्देही प्रदेश निर्वाचन क्षेत्र २ (क) ले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य खाँणले प्रजातन्त्र लोकतन्त्र रहेमात्रै देश रहने भएकाले लोकतन्त्र समाप्त हुँदा देश पनि समाप्त हुने भएकाले लोकतन्त्र कुनैपनि हालतमा समाप्त हुन नसक्ने बताउनु भयो ।
कम्युनिष्ट पार्टीको अहिलेको सरकारले लोकतान्त्रिक मुल्य मान्यता प्रति प्रहार गरिरहेको बताउँदै नेता खाँणले यो प्रहार संविधान माथिकै प्रहार भएको दावी गर्नुभयो । जनताको बहुदलीय जनवाद मान्दै आएको नेकपाले अहिले आएर बहुदलीय जनवाद पार्टी सिद्धान्तबाटै हटाएको उल्लेख गर्दै यसले बहुलवाद मान्दैन, लोकतान्त्रिक शासन पद्धतीमा विश्वास गर्दैन भन्ने कुराको पुष्टि गरेको दावी गर्नुभयो ।
‘नेकपाले कम्युनिष्ट सरकारको माध्यमबाट कम्युनिष्ट राज्यमा लान चाहँदैछन्, यो मुलभुत रुपमा प्रजातन्त्रको विरुद्धमा छ ।’ उहाँले भन्नुभयो–‘त्यसकारण देशका सबै लोकतन्त्रवादीहरुले लोकतन्त्र, र बहुदलको रक्षाकालागि फेरी एक पटक लड्नुपर्ने स्थिती आएको छ ।’
प्रदेश निर्वाचन क्षेत्रका सभापति माधवलाल देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, तिलोत्तमा नगर समितिका सभापति हरिलाल पाण्डे, क्षेत्रीय सचिव राममायाँ पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।