उच्च गुणस्तरको कपडा निर्यात गर्नेगरी रुपन्देहीको तिलोत्तमामा लिडाज गार्मेन्ट उद्योग सञ्चालनमा

1.3K

उच्च गुणस्तरको कपडा निर्यात गर्नेगरी रुपन्देहीको तिलोत्तमामा लिडाज गार्मेन्ट उद्योग सञ्चालनमा

बुटवल, ९ कात्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरमा ५ जना युवाहरुको सामुहिक लगानीमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । बाहिरबाट आयातित महंगा कपडा प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धन गर्ने गरी साढे ६ करोड लगानीमा ‘लिडाज फेसन निटवेयर प्रा.लि.’को नाममा गार्मेन्ट उद्योग सञ्चालन गरिएको हो ।
उक्त गार्मेन्ट उद्योगको शनिबार नेपाली काँग्रेसका नेता तथा प्रतिनीधि सभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका काँग्रेस नेता खाँणले मुलुकको समृद्धिकालागि औद्योगिक क्षेत्रमा लगानी अपरिहार्य रहेको र लगानीको वातावरण सरकारले बनाउनु पर्ने बताउनु भयो ।
त्यस्तै मेयर मिमिरेले नगरपालिकाले लगानीको वातावरण बनाएको बताउँदै स्थानीय सरकारबाट हुनुपर्ने लगानी मैत्री वातावरण निर्माणमा आफू लागिपरेको बताउनु भयो । तिलोत्तमा नगरपालिमा लगानी भित्र्याउनकालागि नै स्थानीय सरकारले वातावरण निर्माण गरेर लगानी सम्मेलन समेत गरेको स्मरण गराउनु भयो ।
यसै क्षेत्रका युवाहरु ईन्द्र खड्का, लक्ष्मण भण्डारी, सुरेश भण्डारी, डम्बर तिवारी र श्रवणकुमार अग्रहरी ५ जनाको संयुक्त लगानीमा पश्चिम नेपालमै उच्च प्रविधियुक्त ग्रामेन्ट उद्योग पहिलो भएको दावी गरिएको छ ।
उक्त उद्योगले निर्यात प्रवद्र्धन गर्नेगरी उच्च गुणस्तरयुक्त कपडाको उत्पादनलाई जोड दिएको बताउँदै निकट भविश्यमा युरोप तथा अमेरिकका देहरुमा समेत आफ्नो उत्पादन बिक्रि वितरण गरिने उद्योगका अध्यक्ष ईन्द्र खड्काले जानकारी गराउनु भयो ।
कम्पनीले बुलन, कटन तथा एक्रेलिक धोगोबाट उच्च प्रविधिको कम्प्युटराईज मेसिनबाट अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उच्च गुणस्तरयुक्त कपडा उत्पादन गरिएको उहाँले जानकारी गराउनु भयो । उद्योगमा रोजगारीकालागि स्थानीय महिलालाई प्राथमिकता दिईएको र हाल ७० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको जानकारी गराउँदै अध्यक्ष खड्काले निर्यातसंगै आयात प्रतिस्थापनमा पनि उद्योग कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
हाल उक्त उद्योगमा दैनिक सरदर ३ सय पिउ कपडा उत्पादन गर्ने क्षमता रहेको र आवश्यकता अनुसार क्षमता बढाउँदै लजाने सञ्चालकहरुले बताएका छन् । उद्योगले तिहारसंगै बिदेशलाई लक्षित गरेर नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित कपडा समेत उत्पादन गर्ने तयारीमा छ ।