कपिलवस्तु, १४ कात्तिक । कपिलबस्तुको कृष्णनगरमा प्रशासनले लगाएको कफ्र्य अवज्ञा गर्दा १ जनाको गोली लागेर ज्यान गएको छ । कृष्णनगर बजार क्षेत्रमा लक्ष्मीपुजाको मूर्ति बिसर्जन गर्ने बिषयमा स्थानीय बिच भएको बिवादले उग्ररुप लिएर झडप भएपछि स्थितीलाई नियन्त्रणमा लिनकालागि जिल्ला प्रशासनले बिहिबार बिहान ११ बजेदेखि कफ्र्यु लगाएको थियो ।
कफ्र्यु अवज्ञा गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको ज्यान गएको हो । प्रशासनले लगाएको कफ्र्यु अवज्ञा गरि स्थानीय प्रहरी चौकी चर्फ अंगाडी बढ्दैगर्दा प्रहरीले गोली चलाएको थियो । कफ्र्यु अवज्ञा गर्ने क्रममा स्थानीय र प्रहरी बिच भएको झडममा केही संख्यामा स्थानीय र प्रहरी समेत घाईते भएको बताईएको छ ।
बिषय सामान्य भएपनि विवादले उग्र रुप लिएकाले कफ्र्यु लगाउनु परेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनु भयो । झडपलाई नियन्त्रणमा लिनकालागि प्रहरीले बुधबार मात्रै ५० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
प्रशासनले कृष्णनगर भन्सार कार्यलयदेखि उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर, पुर्व तर्फ ३ सय मिटर क्षेत्रमा अर्को आदेश नहुँदासम्मकालागि कर्फ्यू लगाएको सूचना जारी गरेको छ ।