ढुवानीमा भ्याट प्रणाली लागुगरे आन्दोलन गर्ने व्यबसायीको चेतावनी

1.3K

ढुवानीमा भ्याट प्रणाली लागुगरे आन्दोलन गर्ने व्यबसायीको चेतावनी

बुटवल, १६ कात्तिक । सरकारले लागु गर्न खोजेको ढुवानीमा भ्याट प्रणाली कुनै पनि हालतमा व्यबसायीलाई मान्य नहुने नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताउनु भएको छ । उहाँले व्यबसायीको हित बिपरित हुनेगरी सरकारले ल्याउने लागेको उक्त प्रणाली लागु हुनै नदिने चेतावनी दिनुभयो ।
ढुवानी व्यवसायीको पेशा नै संकटमा पार्ने गरि सरकारले लागु गर्न खोजेको ढुवानीमा भ्याट प्रणालीका विरुद्ध जस्तो सुकै आन्दोलन गर्न परेपनि महासंघ पछि नहटने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचले शनिवार रुपन्देहीको नयाँमिलमा आयोजना गरेको प्रदेश भेलामा वोल्दै अध्यक्ष श्रेष्ठले २०७१ सालपछि ढुवानीमा भाडा समायोजन नभएकाले समय सापेक्ष भाडा समायोजन गर्न सरकारसंग माग गर्नु भयो । उहाँले सरकार र यातायात व्यवसायीबीच भएको तौलपुल कार्यविधी कार्यान्वयन नहुदाँ व्यवसायी संस्थाले गरेको लगानीको प्रतिफल प्राप्त हुन नसकेको र ओभरलोड नियन्त्रण हुन नसक्दा सडकको अवस्था जिर्ण बन्दै गएको समेत बताउनु भयो ।
उहाँले संघ संस्था नविकरण र उनिहरुका बैक खाता कुनै पनि हालतमा नरोकिने बताउदै यातयात व्यवसायी बीच एकता जरुरी रहेको उल्लेख गर्नुभयो । नेपाल ट्रक यातायात व्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले व्यवसायीलाई प्रोत्साहन हुने गरि सरकारले नीति बनाउन जरुरी रहेको उल्लेख गर्नु भयो ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव अधिकारीले भारतीय गाडीको ओभरलोड नियन्त्रण गरि नेपाली यातयात व्यवसायीको व्यवसाय बचाउन महासंघ गम्भिर हुनु पर्नेमा जोड दिनु भयो ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारती गाडीको ओभरलोड नियन्त्रणका लागि सडकमा सुत्न परेपनि व्यवसायी तयार रहनु पर्ने बताउदै ओभरलोड नियन्त्रण बिना नेपाली व्यवसायीको पेशा सुरक्षित नहुने जिकिर गर्नु भयो ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचका संयोजक यमप्रसाद पाण्डे, महासंघका संस्थापक महासचिव महेन्द्र हमाल, महासंघका महासचिव राजेन्द्र विक्रम वानिया निर्वमान वरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठ, सल्लाहकार विष्णुप्रसाद न्यौपाने, पुर्व वरिष्ठ उपाध्यक्ष गोकर्ण पराजुली केन्द्रीय सदस्य विष्णु खरेल, प्रतावबहादुर कार्की, प्रदेश पाँचका सल्लाहकार जितबहादुर भाट लगायतले सरकारले यातयात व्यवसायीका समस्या बुझेर कानुन बनाउन माग गर्नु भयो ।