बुटवल, १७ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश प्रमुख हटाउने सरकारको निर्णय निर्वाचन आचार संहिता विपरीत भएको बताएको छ । काँग्रेस प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले प्रदेश प्रमुख हटाउनु पर्ने कारण के हो ? सरकारसंग प्रश्न गर्नुभएको छ ।
मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतबार सातै प्रदेशका प्रदेश प्रमुह हटाउनु भएको छ । प्रवक्ता शर्माले प्रदेश प्रमुखले संघीयता सफल बनाउने काममा कहाँनेर अफ्ठ्यारो पारे र हटाउनु परेको हो ? सरकारलाई प्रश्न गर्नुभएको छ ।
सरकारको निर्णय राजनीतिक रुपमा पूर्वाग्रही रहेको बताउँदै उहाँले गर्नुपर्ने काम त्यसै छाडेर गर्नै नपर्ने काममा सरकारले हात हालेर विपक्षी दलसंग दुरी बढाउनुको साथै सरकार आफ्नै असफलताको खाडल खनेको प्रतिक्रिया दिनुभयो ।
उहाँले उपनिर्वाचनको मुखमा आचारसंहिता उल्लंघन गर्दै सरकारले प्रदेश प्रमुख हटाएको आरोप लगाउनु भयो । उहाँले आचार संहिता पालना गर्ने र गराउनु पर्ने सरकारले आफै निर्वाचन आचार संहित उल्लंघन गरेको बताउँदै प्रदेश प्रमुख हटाउने विषय राजनीतिक रुपमा पनि गलत भएको प्रतिक्रिया दिनुभयो ।
