बुटवल, २० कात्तिक । अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा एकैघरका तीन जनाको ज्यान गएको छ । सोही दुर्घटनाममा परि थप दुई जना घाईते भएका छन् । रुपन्देहीको सैनामैनाबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको नीजि कार दुर्घटना हुँदा सैनामैना नगरपालिका वडा नं. २ की ७० वर्षीय दुर्गादेवी खड्का, छोराहरु ४३ वर्षीय भक्तबहादुर र ४० वर्षीय तिलकबहादुरको ज्यान गएको हो । आमा दुर्गादेवीको उपचारकालागि लैजाँदैगर्दा बाटोमै निधन भएको हो भने छोराहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी गराउनु भएको छ ।
सन्दिखर्क नगरपालिका नरपानीबाट ३ सय मिटर अंगाडी उक्त कार दुर्घटनामा परेको थियो । दुर्घटनामा परि कार चालक ४९ वर्षीय गंगाबहादुर खड्का र उनका छोरा, दुर्गादेवीका नाती २६ वर्षीय बिनोद खड्का घाईते भएका छन् । उनीहरुलाई थप उपचारकालागि अर्घाखाँचीबाट बुटवल रिफर गरिएको घटनास्थलबाट प्रहरी नायव निरिक्षक खिमानन्द काफ्लेले जानकारी दिनुभयो । कार सडकबाट सय मिटर भन्दा बढी तल खोल्सामा पुगेको पनि उहाँले जानकारी गराउनु भयो ।