जर्मन र नेपाल सरकारको सहयकार्यमा प्रतिस्पर्धी लाभका क्षेत्र पहिचान गरिँदै

जर्मन र नेपाल सरकारको सहयकार्यमा प्रतिस्पर्धी लाभका क्षेत्र पहिचान गरिँदै

बुटवल, २० कात्तिक । नेपाल सरकार र जर्मन सरकारको सहकार्यमा सञ्चालन गर्न लागिएको ‘स्थानीय तथा प्रादेशिक आर्थिक बिकास परियोजना’ (एलपिईडी) अन्तरगत प्रतिस्पर्धात्मक लाभको सहभागितामुलक विश्लेषण सुरु गरिएको छ ।
दुई देशको सहकार्यमा देशका ११ स्थानीय तहमा यो परियोजना सञ्चालन गरिँदैछ । परियोजना सञ्चालन गर्न लागिएका स्थानीय तहमा बिभिन्न आर्थिक सम्भाव्यता, आयका अवसर प्रदान गर्ने क्षेत्रहरु र मुल्य श्रृङ्खलाहरु पहिचान गर्ने पहिलो चरणको काम प्रतिस्पर्धात्मक लाभको सहभागिता मुलक विश्लेषण सुरु गरिएको हो । यो परियोजना लागु भएको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा गत सोमबारदेखि परियोजना अन्तरगत पहिलो चरणको काम सुरु गरिएको छ । प्रतिस्पर्धात्मक लाभको सहभागितमुलक विश्लेषणबाट प्राप्त निश्कर्षहरु सम्बन्धित स्थानीय तहको आगामी वर्षको योजना तर्जुमाकालागि समेत सहयोगी दस्तावेज हुने परियोजनाका राष्ट्रिय सल्लाहकार निवेदन बैद्यले विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश पाँच अन्तरगत रुपन्देहीको बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, बाँकेको नेपालगञ्ज र कोहोलपुर नगरपालिका, दाङ्को घोराई, तुलसीपुर र लमही नगरपालिका, कर्णाली प्रदेशको बिरेन्द्रनगर र भेरीगंगा तथा सुदुरपश्चिमको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा ‘स्थानीय तथा प्रादेशिक आर्थिक बिकास परियोजना’ सञ्चालन गर्न लागिएको परियोजनाका राष्ट्रिय सल्लाहकार बैद्यले जानकारी गराउनु भयो ।
प्रतिस्पर्धात्मक लाभको सहभागितामूलक विश्लेषणको बारेमा स्थानीय सरोकारवालालाई जानकारी गराउनकालागि बुधबार बुटवलमा सूचनामुलक प्रारम्भिक गोष्ठि आयोजना गरिएको थियो । उक्त गोष्ठिमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रशासकीय प्रमुख चक्रपाणी शर्माले उत्पादन र रोजगारी सिर्जनालाई संगसंगै अंगाडी बढाउनु पर्ने बताउनु भयो । ‘रोजगारीको सिर्जना भएनभने क्रयशक्तिपनि बढ्दैन ।’ उहाँले भन्नुभयो–‘मान्छेको क्रयशक्ति नबढीकन उत्पादनमात्रै भएर त्यसको औचित्य हुँदैन ।’
त्यस्तै परियोजना सञ्चालन गर्ने संस्था जिआईजेडका प्रशिक्षक क्रिष्टियन स्चोयनले परियोजनालाई समुदायको अधिक सहभागितामा ज्ञान र विज्ञता बटुलेर अंगाडी बढ्ने बताउादै यो प्रकारको कार्यक्रम अहिलेसम्म ४० देशमा सञ्चालन भईरहेको जानकारी गराउनु भयो । कार्यशालाले यस क्षेत्रमा मुल्य श्रृङ्खला के के हुनसक्छन् ? रणनीति समेत तय हुने उहाँले जानकारी गराउनु भयो ।
त्यसरी छनौट भएका क्षेत्रमा जिआईजेडले सिप, ज्ञान तथा अन्य प्राविधिक सहयोग गर्नेछ । बुटवलमा आयोजना गरिएको प्रारम्भिक गोष्ठिमा बुटवल नगरपालिकाका वडा अध्यक्षहरु, कर्मचारीहरु, बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ तथा व्यापार संघका प्रतिनीधिहरु सहभागि छन् । यो कार्यक्रम यहि कात्तिक २९ गतेसम्म चल्नेछ ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares