मधेश बन्दको मारमा लुम्बिनी,पर्यटकको संख्या घट्यो

1.1K

मधेश बन्दको मारमा लुम्बिनी,पर्यटकको संख्या घट्यो

lumbini

भैरहवा,  मंसिर । नेपालको वर्तमा राजनैतिक अवश्थाका कारण लुम्बिनी भ्रमणका लागी आउने पर्यटकहरु घटदै गएको तथ्यांकहरुले देखाएको छ ।
लुम्बिनी र यस संग सम्बन्धित अन्य क्षेत्रहरु भुकम्पबाट त्यति प्रभावित र क्षति नभएको अवश्था रहे पनि लामो समय देखी मधेश अशान्त हुदा लुम्बिनी आउने पर्यटकको ससंख्यामा कमि आएको सरोकारवालाहरुको भनाई छ । गौतम बुद्धको जन्मभुमि लुम्बिनीमा पर्यटकको आवागमन केही दिन ज्यादै न्यून रह्यो ।
स्थलमार्ग हुदै नेपाल भित्रयाउने सबै भन्दा ठूलो नाका बेलहियाबाट पर्यटकको आगमनमा आएको कमिले पर्यटन क्षेत्रमा काम गर्ने सबैलाई चिन्तित तुल्याएको छ । पर्यटक आगमनको लागी नत लुम्बिनी बिकास कोषले केही पहल गरेको छ न सुरक्षा ब्यावस्था मिलाउन रुपन्देही प्रशासनले नै प्रभावकारी भूमिका खेल्न सकेको छ । पर्यटकलाई बिभिन्न क्षेत्रबाट असुरक्षा हुदा रुपन्देही प्रशासनले सुरक्षा दिन नसकेको पर्यटन ब्यावसायीको गुनासो छ ।
भैरहवाका पर्यटन ब्यावसायी एवम साटाका पूर्व अध्यक्ष संजय बजिमयले भैरहवा–लुम्बिनी सडक खण्डमा मधेशी मोर्चाका कार्यकर्ताले रक्सी खाएर खुलेयाम रकम उठाउदा पनि प्रशासनले कार्यवाही गर्न नसकेको बताए । उनले अहिलेको आन्दोलनले लुम्बिनी लगायत मुलुककै पर्यटन ब्यावसाय धराशायी भएको जिकिर गरे । अहिले सम्म मधेशी मोर्चाले बिदेशी पर्यटकलाई अवरोध नगरे पनि आन्तरिक पर्यटक लुम्बिनी आउने वातावरण नरहेका बताए । पर्यटन क्षेत्रमा अवरोध नगर्न आनुरोध गर्दै उनले चाडो भन्दा चाडो आन्दोलन समाप्त गर्ने वातावरण तयार गर्न आग्रह समेत गरे ।
गत बर्षको अक्टुबर महिनामा १४ हजार २ सय ६१ जना पर्यटक बेलहिया नाका हुदै नेपाल प्रवेश गरेकोमा यस बर्ष ९ हजार १ सय ७६ जना मात्र नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय बेलहियाले जानकारी दिएको छ । सन २०१३ मा यो संख्या २० हजार ८ सय २ जना रहेको कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत आनन्द पौडेलले बताए । यसै गरि गत बर्षको नोभेम्बर महिनामा १९ हजार ४ सय ७२ जना अध्यागमन कार्यालय मार्फत नेपालमा प्रवेशाज्ञा लिए पनि यस बर्ष सोही महिनाको २२ तारेख सम्ममा १२ हजार ३ सय २० जनाले मात्र अनुमति लिएको पौडेलले बताए ।नेपाल आएका पर्यटक पनि बढिमा ७ देखी ८ घण्टा सम्म मात्र बस्ने गरेको पौडेलको भनाई छ । नेपालमा आउने प्राय पर्यटकको पहिलो प्रश्न सुरक्षा सम्बन्धि नै हुने गरेको पौडेलले बताए । मधेशी मोर्चाले भैरहवा–लुम्बिनी सडकमा गरेको अवरोधको कारण आईतबार मात्रै २ वटा समूह फर्केर भारत गएको उनले गुनासो गरे ।
यता रुपन्देही प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले भने मधेशी मोर्चाले पर्यटकलाई अवरोध गर्ने कुनै निति नरहेको जानकारी आएका फोन मार्फत बताए । पर्यटक सुरक्षित छन आवश्यक परे सुरक्षा दिएर भए पनि पर्यटकलाई गन्तब्य सम्म पुरयाउने उनको भनाई छ ।
मंसिर ३ गते गरेको पत्रकार सम्मेलनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले लुम्बिनी रोडमा मोटरसाईकल र पर्यटक बस समेत चल्न नदिने चेतावनी दिएका थिए ।