आगामी माघमा रुपन्देहीमा पहिलो पटक चलचित्र महोत्सव हुने

1.1K

आगामी माघमा रुपन्देहीमा पहिलो पटक चलचित्र महोत्सव हुने

बुटवल, ३ मंसिर । आगामी माघमा रुपन्देहीमा चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्र बोर्डको आयोजनामा पहिलो पटक आगामी माघ २४ देखि पाँचदिनसम्म रुपन्देहीमा चलचित्र महोत्सव हुन लागेको हो ।
नेपाली चलचित्रलाई बौद्धिक स्तरमा लगेर छलफल गर्नकालागि आयोजना गर्न लागिएको चलचित्र महोत्सवमा पहिलो नेपाली चलचित्र ‘आमा’ देखि हालसम्म आएका मौलिक चलचित्रहरुका बारेमा छलफल अन्तरक्रिया गरि नयाँ आयाम खोजिने नेपाल चलचित्र बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी गराउनु भयो ।
मुलुकको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेको तराईमा नेपाली चलचित्र हेर्ने संख्या न्यून छ । तराईमा नेपाली चलचित्रको पहुँच बृद्धि गर्नकालागि पनि यो कार्यक्रम गर्न लागिएको उहाँले बताउनु भयो ।
चलचित्र महोत्सवमा रुपन्देही जिल्लालाई चलचित्रमय बनाईने छ । जसकालागि जिल्ला भरीका हरेक चलचित्र घरहरुमा मौलिकतामा आधारित चलचित्र प्रदर्शन गरिनेछ भने टिकट निशुल्क हुने नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप उदयले जानकारी गराउनु भयो । चलचित्र घरहरुलाई भने बोर्डले त्यसको शुल्क उपलब्ध गराउने छ ।
जिल्लाका एफएम रेडियो तथा टेलिभिजनहरुलाई पनि आफ्ना कार्यक्रमसंगै बजाउने गितहरु नेपाली चलचित्रका गीत बजाएर सहयोग गर्न आयोजक नेपाल चलचित्र बोर्डले आग्रह गरेको छ । चलचित्र महोत्सवमै जिल्लामा चलचित्र छायांकनकालागि सम्भावित क्षेत्रहरुको पहिचानकालागि स्थलगत अवलोकन गराईने संघका अध्यक्ष उदयले जानकारी गराउनु भयो ।
माघको २८ गतेसम्म सञ्चालन हुने चलचित्र महोत्सवकै बिचमा शिक्षासंग सम्बन्धित पेशागत बिभिन्न संघसंस्थासंगको सहकार्यमा चलचित्र सम्बन्धि बिद्यालय स्तरीय हाजीरी जवाफ प्रतियोगिता सञ्चालन गरिने छ । रुपन्देही जिल्लाका ५ संघीय निर्वाचन क्षेत्रमा छनौट चरणमा पहिलो तीन टिमलाई पुरस्कृत गरिने छ भने प्रथम हुने टिमलाई जिल्ला स्तरमा फाईनल चरणमा उतारिने बोर्डका अध्यक्ष भट्टराईले जानकारी गराउनु भयो । त्यस्तै कलाकार ११ र मुख्यमन्त्री एघार बिच मैत्रीपूर्ण फूटवल खेल आयोजना गरिएको उहाँले बताउनु भयो ।
नेपालमा पछिल्लो १० वर्षमा प्रत्येक वर्ष सरदर सयका दरले चलचित्र निर्माण भईरहेका छन् । तर सबै चलचित्रले समान बजार पाउन भने सकेका छैनन् । यो महोत्सवले निर्माताहरुलाई बजार मागको बारेमा समेत जानकारी हासिल हुने आयोजकले बिश्वास लिएका छन् ।
बोर्डले यस अंगाडी धरान र सुर्खतमा सामान्य चलचित्र महोत्सव गरेपनि त्यसले खासै उपलब्धि हासिल नगरेको र अहिले बृहत रुपमा गर्नलागिएको महोत्सवबाट चलचित्र उद्यममा नै फरक सन्देश दिने आयोजकको अपेक्षा छ । वर्तमानमा बसेर ईतिहासको अध्ययन गर्ने र चलचित्रमा भविश्य खोजिने बोर्डका अध्यक्ष भट्टराई बताउनु हुन्छ ।
भैरहवालाई आधार क्षेत्र बनाएर गरिने महोत्सवका ईभेन्टहरु फरक फरक स्थानमा गरिने छ । यस कार्यक्रममा करिव २ सय चलचित्र कर्मी रुपन्देहीमा जम्मा हुने छन् ।
करिव २ करोड रुपैंया खर्चानुमान गरिएको चलचित्र महोत्सवकालागि बोर्डले एक करोड रुपैंया छुट्याएको छ । बाँकी रकम प्रदेश सरकार, स्थानीय तह र नेपाल पर्यटन बोर्ड लगायतका संस्थाबाट समेत सहयोगको अपेक्षा गरिएको उहाँले जानकारी गराउनु भयो ।