नीजि सञ्चार माध्यमलाई प्रोत्साहनको नीति लिन तीनै सरकारको ध्यानाकर्षण

611

नीजि सञ्चार माध्यमलाई प्रोत्साहनको नीति लिन तीनै सरकारको ध्यानाकर्षण

यहि मंसिर १ गतेदेखि लुम्बिनीमा सञ्चालन गरिएको ‘लुम्बिनी न्यूज फेष्टिवल–२०७६’ १६ बुँदे निश्कर्ष सहित मंलगबार सकिएको छ ।
फेस्टिबलले नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता तथा सार्वभौमिकताप्रति सहमति कायम राख्न राजनीतिक दल, नागरिक समाज, प्राज्ञिक वर्ग, बुद्धिजीवि, पत्रकार, गैरसरकारी संस्था एवं सर्वसाधारणलाई आह्वान गरेको छ ।
समृद्धिका लागि सञ्चार क्षेत्रको पुर्नसंरचना गरी सूचना तथा ज्ञानयुक्त समाजको सिर्जना गरी नेपालको जीवनस्तर उकास्ने, आर्थिक समृद्धि र विकास प्राप्ती गर्ने, विश्वमा नेपालको छवि उँचो बनाउने र गणतन्त्रलाई सुदृढ बनाउन सञ्चार क्षेत्रको तर्फबाट आवश्यक भुमिका निर्वाह गर्ने महोत्सवले प्रण गरेको छ ।
त्यस्तै न्यूज फेस्टिबलले स्थानीय, सामुदायिक तथा नीजि क्षेत्रबाट सञ्चालित मिडियाहरुलाई संरक्षण र प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न संघ, प्रदेश र स्थानीय तहका सरकार समक्ष माग गरेको छ । नेपाली मिडियामा व्याप्त केन्द्र र मोसफल भन्ने अवधारणा समाप्त पार्दै आफू कार्यरत संघ, हरेक प्रदेश र स्थानीय तहलाई नै केन्द्र मान्दै आ–आफ्ना क्षेत्रका समाचार र विचार जनता, सरकार र सम्बन्धित निकायमा व्यापक रुपले पुर्याउने महोत्सवले प्रतिबद्धता व्यक्त गरेको छ ।
पत्रकार आचारसंहिता दृढतापूर्व पालना गर्दै व्यवसायिक पत्रकारिताप्रति प्रतिबद्ध रहने, राजनीतिक दलसंगको आबद्धता र सरकार निकट बन्ने सोचाइबाट मुक्त हुने, पत्रकारिताको पेशाप्रति पूर्ण निष्ठावान भइ आफुलाई सबै प्रकारका प्रविधि एवं सिपबाट सुसज्जित बनाउन र नेपाली पत्रकारितालाई स्मार्ट जर्नालज्म उन्मुख गराउने, राष्ट्रको समृद्धिका साथसाथै राष्ट्रियता, जनजीविका, स्वाधिनतता र जनताको सक्रियतामा सञ्चालित न्यायपूर्ण आन्दोलनमा जनता केन्द्रीत मिडियाको रुपमा सक्रियतापूर्वक सहभागि हुने महोत्सवले अठोट गरेको छ ।
संघीयतामा सञ्चार, समृद्धिकालागि मोफसल मूलधार भन्ने मूल नाराका साथ लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको लुम्बिनी न्यूज फेस्टिबलमा देशभरीका ३ सय बढी पत्रकारको सहभागिता रहेको क्लबका अध्यक्ष दिपेश पछाईले जानकारी गराउनु भयो । न्यूज फेस्टिबलमा तीनै दिन विभिन्न विषयमा विभिन्न सेसनमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
४२ वर्ष अघि निर्मित लुम्बिनी गुरुयोजना यथासक्य कार्यान्यवन गर्न संघीय सरकार र लुम्बिनी विकास कोषलाई महोत्सवले आग्रह गरेको छ भने शाक्यमुनी गौतमबुद्ध तथा कनकमुनि एवं क्रकुच्छन्द बुद्ध जन्मसंग सम्बन्धित सबै स्थल लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह लगायत स्थलको संरक्षण, प्रबद्र्धन र पर्यटकीय विकास गर्न सम्बन्धित सरोकारवालालाई आग्रह गर्दै यस विषयलाई निरन्तर रुपमा मिडियामार्फत उजागर गर्न महोत्सवले प्रतिबद्धता व्यक्त कार्यक्रम संयोजक दिपेन्द्र बडुवालले बताउनु भयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा.तिलकराम आचार्यको संयोजकत्वमा गठित निष्कर्ष लेखन समितिले १६ बुँदे निश्कर्ष निकालेको हो ।