आन्तरिक राजश्व कार्यालय बुटवलले ४ जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस–२०७६को अवसरमा शनिबार कार्यालय परिषरमा आयोजित ‘कर सप्ताह’को समापन कार्यक्रममा जिल्लाबाट सबैभन्दा धेरै कर तिर्ने ४ संस्थालाई सम्मान गरिएको हो ।
आन्तरिक राजश्व कार्यालय बुटवलको कार्यक्षेत्रमा पर्ने ४ हजार ८ सय करदातामध्ये सबैभन्दा बढी करतिर्ने रुपन्देही जिल्लाबाट न्यू होराईजन ईङ्लिस बोर्डिङ् स्कुल प्रालि, नवलपरासीबाट किसान पाईप प्रोडक्सन प्रालि बर्दघाट, पाल्पा जिल्लाबाट अधिकार मुक्ति वचत तथा ऋण सहकारी संस्था रामपुर र गुल्मीबाट मैत्री बहुउद्देश्यीय सहकारी संस्था रेसुङ्गा नगरपालिकालाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत विनोदकुमार माझीले जानकारी गराउनु भयो ।
कर सप्ताहकै अवसरमा आयोजित निवन्ध प्रतियोगितामा प्रथम कान्ति माबि बुटवलकी सुरक्षा भट्टराई, द्वितीय न्यू होराईजनका अपिल चौधरी र तृतीय क्यानन माबिका बिक्रम भण्डारीलाई पनि कर सप्ताह समापन समारोहमा पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै आन्तरिक राजश्व कार्यालय बुटवलमा कार्यरत नायव सुब्बा बिनोद पौडेललाई पनि उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । उहाँहरुलाई आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख, प्रमुख कर अधिकृत ध्रुवराज ज्ञवाली र ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख प्रकाश चन्द्र अधिकारीले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख प्रकाशचन्द्र अधिकारीले सरकारले लिएको समृद्धिको अभियानलाई लक्ष्यमा पु¥याउन र दिगो बिकासकालागि औद्योगिक विकास अपरिहार्य रहेको बताउनु भयो । उहाँले त्यसकालागि कर प्रशासन पनि चुस्त हुनुपर्ने भनाई राख्नुभयो । उहाँले आफूले तिरेको कर सदुपयो भएको छ वा दुरुपयोग भएको छ, त्यसको समेत करदाताले निगरानी गर्नुपर्ने भनाई राख्नुभयो ।
त्यस्तै आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत ध्रुवराज ज्ञवालीले कर्मचारीहरुलाई बिधि र कानुनको परिधिभित्र रहेर काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै बिधि र कानुनको परिधि नाघेर काम गर्न नसकिने भनाई राख्नुभयो । समग्रमा हुने छलफलले समस्याको समाधान हुन नसक्ने बताउँदै उहाँले बिषयगत रुपमा भएका समस्याको समाधानकालागि विषयगत रुपमा गहिरो अध्ययन र छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष बिमलराज भट्टराईले बुटवलमा कर कार्यालय स्थापनाकालागि बिरोधका बावजुधपनि बुटवल उद्योग बाणिज्य संघले प्रभावकारी भूमिका खेलेको स्मरण गर्दै स्थापित कार्यालय सार्ने विषयमा यसै क्षेत्रमा जग्गा प्राप्तीकालागि पनि बुटवल उद्योग बाणिज्य संघले खेल्नुपर्ने भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारले गर्नुपर्ने काममा समेत उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व बहन गरेर शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरेको जानकारी गराउँदै यस क्षेत्रको औद्योगिक क्षेत्रको बिकासकालागि पनि मोतिपुर तिनाउ कोरिडोरमा औद्यौगिक क्षेत्रको परिकल्पना उद्योग बाणिज्य संघले नै गरेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा उद्योग व्यापार संघ रुपन्देहीका ज्योती भण्डारी, परासी उद्योग बाणिज्य संघका अध्यक्ष केशवराज भण्डारी, सम्मानित न्यू होराईजन ईङ्लिस बोर्डिङ् स्कुलका प्राचार्य लोकनाथ उपाध्याय लगायलतले कर प्रशासन प्रविधिमैत्री बनाउँदै जाँदा उतीउती कर दातालाई झण्झटिलो बन्दै गएकाले करदाता मैत्री कर प्रशासनमा जोड दिनुभएको थियो ।


