खण्डग्रास सूर्यग्रहण लाग्दै

324

खण्डग्रास सूर्यग्रहण लाग्दै

आज केहीबेरमा खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णयक समितिका अनुसार अहिले बिहान ८ः४२ मिनेटमा ग्रहणले स्पर्श गर्नेछ । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने पञ्चांग निर्णयक समितिले जनाएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई बताएअनुसार, ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगी बाहेकले भोजन गर्नु हुँदैन । शास्त्रीय रूपमै यीबाहेकका व्यक्तिमा भोजन निषेध गरिएको उहाँको भनाइ छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ज्योतिषीहरूका अनुसार, ग्रहणका बेला भोजन, मैथुनलगायतका कार्य वर्जित छन् । तर, वैज्ञानिकहरू भने यसमा सहमत छैनन् ।