प्रदेश नं– ५ को भ्रमण वर्षलाई लक्षित गरेर प्रदेशका विभिन्न जिल्लामा पर्यटन सम्बन्धी मेला महोत्सवका विभिन्न कार्यक्रम घोषणा गरिएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी प्याकेजसहितका कार्यक्रम घोषणा गरेको हो । सो प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनीमा तीन दिने पर्यटन बसाइँ, घुम्न जाँउ बर्दिया, बाँके जङ्गल सफारी विशेष प्याकेज र रानीमहल पर्यटकीय महोत्सव हुन लागेको जानकारी दिनुभयो । उहाँले त्यस बाहेक सिस्ने हिमालको काखमा कमलदह पर्यटकीय महोत्सव, स्वर्गद्धारीमा एक लाख तीर्थालुलाई महाअभिषेक, लुम्बिनी ढोरपाटन हँुदै डोल्पासम्मको पदमार्गको अनुसन्धान र प्रत्येक जिल्लामा पर्यटकीय मेला महोत्सवका लागि विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । “सङ्घीय सरकारले शुरु गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई प्रदेश सरकारले साथ दिएको हो ” उहाँले भन्नुभयो । प्रदेशको सबै जिल्लामा होमस्टे तालीम, होमस्टे पूर्वाधार निर्माण, वृत्तचित्र पर्यटन प्रोफाइल, बुद्ध चक्रपथको अध्ययन प्रतिवेदन, सबै जिल्लाको पर्यटन क्षेत्रको अध्ययन प्रतिवेदन, पर्यटकीय रणनीतिक गुरुयोजना तयारी र केही ठूला पर्यटकीय पूर्वाधारमा लगानी गरिने बताइएको छ । भ्रमण वर्षका लागि खास बजेट प्रदेश सरकारबाट विनियोजन नभए पनि सङ्घीय सरकारबाट रु २५ लाख प्रदेश सरकारलाई प्राप्त भएको मन्त्री गिरीले जानकारी दिनुभयो । रासस
