पुस्तक व्यवसायमा नियोजित रुपमा आक्रमण हुदा व्यवसायमा संलग्न व्यवसायीहरु आफ्नो व्यवसायबाट पलायन हुन बाध्य भएको गुनासो पुस्तक व्यवसायीहरुले गरेका छन् । लामो समयदेखि व्यवसाय गरेका व्यवसायीहरुले आफ्नो व्यवसायमा समय अनुसार परिर्वतन गर्नु पर्ने चुनौति थपिएको बेलामा केही समुहले नियोजित रुपमा आक्रमण गरि व्यवसायमा अराजकता भित्र्याएको आरोप लगाएका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा रुपन्देहीको १७ औं साधारणसभामा बोल्ने बक्ताहरुले व्यवसायिक मर्यादा विपरित उपभोक्तालाई असर पार्ने गरि पुस्तक बिक्री गर्ने काम भएको भन्दै त्यसले व्यवसायी र उपभोक्ता दुवैले सुविधा नपाएको दावी गरेका थिए । उनीहरुले व्यवसायमा विचौलियाहरुले चलखेल गर्ने तथा सरकारी सेवामा संलग्न तथा विद्यालयका शिक्षकहरु नै पुस्तक व्यवसायमा लागेको भन्दै त्यसका विरुद्ध सबै व्यवसायीहरु एकजुट हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अरु व्यवसायी जस्तै पुस्तक व्यवसायी पनि एक हुनुपर्ने बेला आएको बताउदै कसले कतिमा पुस्तकको विक्रि गर्ने भन्दा पुस्तक व्यवसायीहरुले पुस्तक वेच्न किन पाइरहेका छैनन भन्ने बारेमा गम्भिर बन्दै सबैमा एकरुपता ल्याएर व्यवस्थीत ढङ्गले अगाडि बढाउनुपर्ने बताएका थिए । ग्राहक आफुतिर तान्ने लोभमा कम मूल्यमा पुस्तक बेच्ने प्रवृतिले व्यवसायी नै कमजोर बन्दै गएको भन्दै व्यवसायलाई प्रभावकारी बनाउनको लागि एकरुपताको आवश्यकतामा जोड दिनुपर्ने बताए ।
व्यवसायीहरुले जनक शिक्षा सामग्री केन्द्रले समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा व्यवसायीले दुःख पाउनु परेको, त्यसको अपजस व्यवसायी स्वयमले भोग्नुपरेको र विद्यार्थीले समयमा पाठ्यपुस्तक प्राप्त गर्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टशनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मनहरी बस्यालले पुस्तक तथा स्टेशनरी व्यवसायीले झेल्नु परिरहेको नीतिगत समस्या समाधानका लागि सरकारसंग पहल गरिरहेको वताउनु भयो । व्यवसायीको हकहित संरक्षणका लागि महासंघ गम्भीर रहेको उहाँको भनाई थियो । अध्यक्ष वस्यालले रुपन्देही शाखाको सक्रियता र क्रियाशिलताको प्रशंसा गर्दै महासंघले आफ्नो हकहितसंगै अभिभावक र विद्यार्थीहरुलाई प्रदान गर्ने सेवा सुविधाबारे पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
महासंघका संस्थापक अध्यक्ष कृष्ण पाण्डेले पुस्तक तथा स्टेशनरी व्यवसायीहरू विच एकरूपताका साथ आफ्नो व्यवसाय गर्नेु पर्ने वताउदै पुस्तक व्यवसायलाई बदनाम बनाउने काम भएको गुनासो गर्नुभयो । नेपाल अभिवावक महासंघ केन्द्रीय अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यालय आफैंले प्रकाशनगृह रोज्ने र त्यसबाट कमिसन लिने गरेको आरोप लाग्ने गरेको अवस्थामा पुस्तक व्यवसायीहरुले त्यसलाई रोक्न पहल गर्नु पर्ने बताउँदै विद्यालयले पुस्तकको सूची सार्वजनिक गर्ने र पुस्तक व्यवसायीले समयमा पुस्तक उपलब्ध गराउने दायित्व पुरा गर्नु पर्ने धारणा राख्नुभयो ।
संघका अध्यक्ष त्रिलोचन ज्ञवालीको अध्यक्षता, सचिव दिपक पाठकको सञ्चालन तथा उपाध्यक्ष रामकृष्ण भट्टराईको स्वागतमा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघ, रुपन्देहीका सचिव रामप्रसाद आर्चाय, शिक्षा निर्देशनालयका उपचिव भोजबहादुर केसी, महासंघका केन्द्रीय महासचिव दिवाकर घिमिरे, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, व्यवसायीहरु खेमराज पराजुली, शुक्र बस्याल लगायतले भनाई राख्नुभएको थियो ।
त्यस अवसरमा संघको गरिमा स्थापित गर्ने काममा योगदान गरेको भन्दै व्यवसायीहरु खेमराज पराजुली र अमित गुप्तालाई सम्मान गरिएको थियो ।