‘न्यू बुटवल’ विद्युत् हवको निर्माण अन्तिम चरणमा

1.3K

‘न्यू बुटवल’ विद्युत् हवको निर्माण अन्तिम चरणमा

दोस्रो अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् आयात तथा निर्यातका लागि समेत रणनीतिक महत्वको न्यू बुटवल सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हालैमात्र नेपाल र भारतबीच सहमति भएको न्यू बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन जोड्ने सवस्टशेन निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको हो । नेपाल र भारतबीच गत असोज २६ र २७ गते भारतको बैङ्गलोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकले उक्त प्रसारण लाइनमा समान हिस्सा रहने सहमति भएको छ । प्रसारण लाइन निर्माणको प्रक्रिया शुरु हुनुभन्दा अगावै सवस्टेशन निर्माण सम्पन्न हुने भएको छ । हाल २२० केभी क्षमतामा निर्माण सकिन लागेको उक्त सवस्टेशन आन्तरिक विद्युत् वितरण तथा व्यवस्थापनका लागि रणनीतिक महत्वको छ । सो सवस्टशेन निर्माण सकिएपछि भैरहवा र बुटवल आसपासको क्षेत्रमा थप विद्युत् उपलब्ध गराउन मार्ग प्रशस्त हुनेछ । थप विद्युत् माग गरिरहेका उद्योगी तथा व्यवसायीलाई सहज रुपमा उच्च भोल्टेजको विद्युत् दिन मार्ग प्रशस्त हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । नवलपरासीको सुनवलमा २२०÷१३२ केभी न्यू बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुवै सवस्टेसनको निर्माण आगामी चैत्रभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी थालिएको छ । कार्यकारी निर्देशक घिसिङले धैरै समय लाग्ने अधिकांश सिभिल संरचनाको निर्माण सकिएकाले कुनै अवरोध नआएमा तोकिएकै समयमा काम सम्पन्न हुने अवस्था देखिएको जानकारी दिनुभयो । आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिसँग निर्माण प्रगति, बेहोरिएका समस्याबारेमा जानकारी लिँदै उहाँले तोकिएकै समयमा काम सक्न निर्देशन दिनुभयो । “सवस्टेसनको जग हालिएको छ, अधिकांश उपकरण आयोजनास्थलमा आइसकेका छन् भने केही आउने क्रममा छन्, अब उपकरण जडानको काम मात्रै बाँकी छ । बाँकी सिभिल संरचनाको काम सक्न र उपकरण जडानको कामलाई तीव्र पार्न आवश्यक निर्देशन दिइएको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो “तेकिएकै समयमा सम्पन्न गर्न देखिएका समस्या समाधान गर्न प्राधिकरणले गर्नुेपर्ने काम र सहजीकरण गर्न तदारुकताका साथ गरिरहेका छौँ ।” मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत, द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सवस्टेसनको निर्माण गरिएको हो । भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले चैतभित्रमा सवस्टेसन ‘चार्ज’ गर्ने प्रतिबद्धता जनाएको छ । निर्माणमा १०० बढी कामदार आयोजनास्थलमा खटिएका छन् । कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन हुँदै न्यू बुटवल सवस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल सवस्टेसनबाट शुरु हुनेछ । नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ । करिब २० बिगाहा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सवस्टेसन पछिको दोस्रो ठूलो विद्युत् हब हुनेछ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बुटवलमा ४०० केभीको अर्को सवस्टेसन बन्ने छ । एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन निर्माण गर्नेछ । बर्दघाट–न्यू बुटवल २२० केभी र न्यू बुटवल–कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माणको क्रममा छ । उता चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन सवस्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ । भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३÷११ केभी चैनपुर सवस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ । लामो प्रसारण लाइन र क्षमताले नधान्दा सो क्षेत्रमा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या देखिँदै आएको थियो । नयाँ सवस्टेसन सञ्चालनमा आएपछि प्राविधिक चुहावट करिब पाँच प्रतिशत घट्ने छ । ग्राहकले गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने छन् । प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी रुपमा विद्युत् काट्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । हेटौँडाबाट भरतपुरतर्फको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सवस्टेसनमा मोडेर त्यस क्षेत्रमा आपूर्ति गर्ने तयारी छ । रासस