बौद्ध स्थलमा पर्यटकीय पूर्वाधार बन्न आवश्यक

बौद्ध स्थलमा पर्यटकीय पूर्वाधार बन्न आवश्यक

निरा गौतम /

लुम्बिनी र यस क्षेत्रका अन्य बौद्ध क्षेत्रहरु विश्वभरका पर्यटकका लागि आकर्षक गन्तव्य हुन् । यी गन्तव्यहरुको प्रवद्र्धनका लागि प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष समेत मनाइरहेको छ । लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रुपमा बढाउन ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं : शान्तिको सन्देश फैलाऔं’ भन्ने मूल नारासहित बौद्ध स्थलहरुमा विभिन्न प्रवद्र्धनात्मक तथा आध्यात्मिक गतिविधि सञ्चालन गरिएका छन् । लुम्बिनीमा मात्र सीमित रहेका पर्यटकीय गतिविधिहरु भ्रमण वर्षका कारण यससँग सम्बन्धित बौद्ध स्थलहरुमा पनि आयोजना हुन थालेका छन् । लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक महत्वको क्षेत्र हो । यहाँ शान्तिका नायक गौतम बुद्धको इसापूर्व ६२३ मा जन्म भएको थियो । यो भूमि संसारभरका बुद्धमार्गी र शान्तिप्रेमीहरुका लागि पवित्र गन्तव्यको रुपमा रहेको छ । सन् १९७८ मा प्रो. केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजना अनुसारको काम सम्पन्न हुन अझै केही वर्ष लाग्ने छ । यद्यपि लुम्बिनी अब घुम्न लायक आकर्षक गन्तव्यको रुपमा तयार भएको छ र यसैकारण यो वर्ष यसको प्रवद्र्धनका लागि लुम्बिनी भ्रमण वर्ष घोषणा गरिएको हो । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटन गतिविधि बढेको त देखिन्छ तर पर्यटकको बसाइ अवधि भने लम्बिन सकेको छैन । भैरहवा–लुम्बिनी सडक खण्ड निर्माणको क्रममा रहेको र वैकल्पिक सडकको विषयमा जानकारी नहुँदा पर्यटक आवागमनमा कमी आएको लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले बताउनुभयो । “लुम्बिनी भ्रमण वर्षका कारण यहाँ पर्यटकीय गतिविधि बढेका छन् जसले गर्दा पर्यटन व्यवसायीहरु उत्साहित छन् तर, पर्यटकहरुको बसाइ अवधि कम छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो – अब बसाइ अवधि लम्ब्याउन पर्यटकीय प्याकेजको तयारीमा लागैका छौं ।” लुम्बिनीदेखि करीव २८ किलोमिटरको दूरीमा सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान तिलौराकोट छ तर, लुम्बिनी आउने अधिकाँश पर्यटक यो पवित्र स्थानमा पुगेका हुदैनन् । अहिले सडक निर्माणको क्रममा रहेकाले पर्यटकहरु लुम्बिनीबाट सहजै तिलौराकोट पुग्ने अवस्था छैन । पूर्व–पश्चिम राजमार्गबाट तिलौराकोट जान निकै सजिलो छ । कपिलवस्तुको गोरुसिङ्गेबाट ११ किलोमिटरको दूरीमा सजिलै तिलौराकोट पुग्न सकिन्छ । अर्कोतर्फ तिलौराकोटमा पर्याप्त पर्यटकीय पुर्वाधार नहुँदा आकर्षणको केन्द्र बन्न सकेको छैन । विभिन्न अध्ययनहरुले तिलौराकोटमा पर्यटकको बसाइ अवधि औसत ३९ मिनेट मात्र रहेकोे देखाएको छ । तिलौराकोट आउने पर्यटक पश्चिमी र पूर्वीद्वार तथा मध्य भागमा रहेको राजप्रासाद अवलोकन भ्रमण गरी फर्कने गरेका छन् । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने उद्देश्यले दुरहाम विश्वविद्यालय बेलायत, नेपाल सरकार र विज्ञहरुको संलग्नतामा लुम्बिनी विकास कोषले पुस २२ गतेदेखि पुनः उत्खनन थालेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “अबको दुई वर्षभित्र बुद्धले २९ वर्ष बिताएको राजा शुद्धोदनको दरबार यही हो भनेर अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्ने काम सम्पन्न हुन्छ । यो राष्ट्रकै महत्वको विषय हो ।” अध्ययनअनुसार तिलौराकोट आएका ११ प्रतिशत मात्रै राजा शुद्धोदन र रानी मायादेवीको समाधिस्थल मानिएको धमनिहवा स्तूप जाने गरेका छन् । यो तिलौराकोट दरबारबाट ७०० मिटरकै दूरीमा अवस्थित छ । यस्तै, नौ प्रतिशतले मात्रै तिलौराकोटदेखि ७०० मिटर पश्चिम दक्षिण रहेको कपिलवस्तु सङ्ग्रहालय अवलोकन गर्न जाने गरेका छन् । तिलौराकोटबाट सात किलोमिटरको दूरीमा क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा छ । यो स्थानमा भाँचिएको अशोक स्तम्भ र प्राचीन स्तूपको भग्नावशेष छ । यसकोे पनि उचित प्रचारप्रसार र सम्बद्र्धन हुन सकेको छैन । यहाँ पुग्ने पक्की सडक रहे पनि घुमफिर गरेर समय बिताउने वा आध्यात्मिक चिन्तन मनन गर्ने पूर्वाधार नहुँदा पर्यटकहरु आएका छैनन् । आएका पर्यटक पनि छोटो समयमै फर्किने गरेका छन् । यस्तै, कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा पनि कपिलवस्तुमै छ । तिलौराकोटदेखि नौ किलोमिटरको दूरीमा यहाँ पुग्न सकिन्छ । यहाँ पनि भाँचिएका अशोक स्तम्भका टुक्रा र निग्लिसागर पोखरी छन् । यस स्तम्भमा उत्कीर्ण अभिलेखले कनकमुनि बुद्धको जन्म यस स्थलमा भएको तथ्य प्रमाणित गर्दछ । यो क्षेत्रमा भ्रमण वर्षको अवसरमा प्रदेश सरकारले पूर्णिमा उत्सव मनाउने बाहेक अन्य पर्यटकीय गतिविधि हुन सकेका छैनन् । यहाँ पनि सडक बाहेकका पर्यटन पूर्वाधार छैनन् । तिलौराकोटबाट दश किलोमिटर दूरीमा संरक्षित क्षेत्र अरौराकोट पर्दछ । यस पवित्र स्थललाई कनकमुनि बुद्धको गृहनगरको रुपमा पहिचान गरिएको छ । यहाँ प्राचीन भग्नावशेषहरु रहेका छन् । उचित प्रसारप्रसार नहुँदा यो क्षेत्रको महत्व धेरैले बुझेका छैनन् । प्रदेश सरकारले कनकमुनि बुद्धको गृह नगर अरौराकोट र क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवामा यसै वर्ष मूर्ति राख्ने र पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । हजारौं शाक्यहरुको बध गरिएको क्षेत्र सगरहवा पनि कपिलवस्तुमै पर्छ । तिलौराकोटदेखि आठ किलोमिटर दूरीमा रहेको यो स्थानमा हाल केही भग्नावशेषहरु र एक पोखरी छन् । डा ए फुहररले यस स्थलमा सन् १८९७ मा उत्खनन् गरी बुद्धकालीन अवशेष तथा स्तूपहरु बाहिर निकालेका थिए । भगवान् गौतम बुद्धले ज्ञान प्राप्त गरी पहिलो पटक राजधानी आउँदा आफ्ना पिता शुद्धोधन माता प्रजापति गौतमी, पत्नी यशोधरा तथा छोरा राहुललाई भेटघाट गरेको महत्वपूर्ण स्थल निग्रोधाराम पनि कपिलवस्तुमै छ । यो स्थल लुम्बिनीबाट २८ किलोमिटर दक्षिण पश्चिम तथा तिलौराकोटदेखि छ किलोमिटरको दूरीमा पर्दछ । यहाँ पुरातात्विक एवं धार्मिक महत्वका तीन स्तुप, एक पोखरी र एक इनार रहेका छन् । तिलौराकोटबाट १२ किलोमिटर दक्षिणमा सिसहनिया अवस्थित छ । यो स्थलमा शाक्यहरुद्वारा निर्मित प्राचीन स्तूपहरुका भग्नावशेषहरु यत्रतत्र देखिन्छन् । लुम्बिनी विकास कोषका अनुसार यस स्थलको सतहबाट प्राचीन ईंटा, माटोका भाँडाहरु, शाक्यकालीन मुद्राहरु सङ्कलन गरिएको थियो । यी बौद्ध स्थलहरुको प्रचारप्रसार र उचित सम्बद्र्धनको जरुरी छ । प्रचारप्रसारको अभावमा यी क्षेत्रहरुमा पर्यटक नपुगेको देखिन्छ । “पुरातात्विक हिसाबले यी क्षेत्र महत्वपूर्ण छन् तर, पर्यटकहरु पुगेकै हुँदैनन्,” लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले भन्नुभयो – पर्यटकलाई आकर्षण गर्न संरचना निर्माण गर्न आवश्यक छ ।” बुद्ध जन्मस्थल लुम्बिनीबाट ५७ किलोमिटर उत्तरपूर्वमा बुद्धको मावलीस्थल देवदह छ । यो ठाउँ शाक्यमुनि बुद्धको आमा मायादेवी, कान्छी आमा प्रजापति तथा श्रीमती यशोधराको माइती होे । बुद्धको बाल्यकालसँग जोडिएको पुरातात्विक महत्वको क्षेत्रको रुपमा मानिएको यो स्थलको उत्खनन् हुन नसक्दा ओझेलमा परेको छ । नवलपरासीको रामग्राम नगरपालिकामा पर्ने रामग्राम ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थल हो । सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा यो क्षेत्र पर्दछ । करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको यो स्तूपमा भगवान् गौतम बुद्धको महापरिनिर्वाण पछि अस्तु राखिएको छ । बौद्ध ग्रन्थ अनुसार बुद्धको महापरिनिर्वाण पछि अस्तु कसले लैजाने भन्ने विषयमा विवाद भएपछि आठ भाग लगाइएको थियो । बुद्धको अस्तु मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, वैप्दीप, पावा, कुशीनगर र रामग्रामलाई दिइएको थियो । पछि सम्राट अशोकले सबै राज्यको अस्तु सङ्कलन गरे हात्तीले संरक्षण गरेर राखेकाले रामग्रामको लिन सकेन । पुरातात्विक महत्वको हुँदाहुदै पनि पूर्वाधार निर्माण र प्रचारप्रसारको अभावमा यो क्षेत्र ओझेलमा छ । लुम्बिनी विकास कोष र रामग्राम नगरपालिकाले भौगर्भिक सर्भे गरेर रामग्रामको विकासका लागि गुरुयोजना तयार गरेको विकास कोषका निमित्त सदस्य सचिव भट्टराईले बताउनुभयो । स्तूपकै स्वरुपमा गोलो आकारमा गुरुयोजना तयार भएको जानकारी दिँदै उहाँले गुरुयोजनाले ११७ बिघा क्षेत्रफल ओगटेको जानकारी दिनुभयो । जग्गा अधिग्रहणका लागि रु १ खर्ब २० करोड बजेट लाग्छ र यो रकम सरकारसँग माग गरिएको छ । “यो ठाउँलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने कार्यमा लागेको छौं, ” उहाँले भन्नुभयो । रासस

Share This
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares