नेपाली काँग्रेस प्रदेश पाँचका संसदीय दलका नेता बलदेव शर्माको निधन

1.3K

नेपाली काँग्रेस प्रदेश पाँचका संसदीय दलका नेता बलदेव शर्माको निधन

प्रदेश पाँच नेपाली काँग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । ८३ वर्षीय शर्मा गत फागुनदेखि फोक्सोमा क्यान्सर देखिएपछि उपचाररत हुनुहुन्थ्यो । क्यान्सर रोगसंग संघर्षरत प्रमुख विपक्षी दल नेपाली काँग्रेसका नेता शर्माको उपचारकै क्रममा सोमबार दिउँसो रुपन्देहीको तिलोत्तमा स्थित क्रिमसन अस्पतालमा निधन भएको हो ।
२०७४ मंसिर २१ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको समानुपातिक तर्फबाट उहाँ प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । प्रदेश सभामा सभामुख उपसभामुख निर्वाचन नहुँदासम्मकालागि प्रदेश सभा बैठक समेत जेष्ठताका आधारमा उहाँले नै सञ्चालन गर्नुभएको थियो ।
तिलोत्तमा नगरपालिका वडा नं. १४ खैरीया निवासी प्रदेश सभा सदस्य शर्मा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । नेपाली काँग्रेसको पूर्व रुपन्देही जिल्ला सचिव समेत रहनु भएको शर्मालाई नेपाली काँग्रेसले केन्द्रीय सल्लाहकार समेत बनाएको थियो । उहाँको हाल श्रीमती, ४ छोरा र २ छोरी हुनुहुन्छ ।