रुपन्देहीको तिलोत्तमामा आगामी शुक्रबार देखि औद्योगिक व्यापार मेला हुँदैछ । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ हुन लागेको हो । मेला सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको र शुक्रबार पूर्व रक्षामन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
‘तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको औद्योगिक व्यापार मेलामा ३ सय स्टल राखिने छ । यहि माघको १० देखि २१ गतेसम्म हुने मेलामा ५ लाखले मेलाको अवलोकन गर्ने र मेला भित्र १५ करोडको कारोवार हुने अनुमान गरिएको आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक गुणनिधी भण्डारीले जानकारी गराउनु भयो । जिल्लाकै मध्येभागमा पर्ने तिलोत्तमा नगरपालिकामा लगानीको राम्रो सम्भावना रहेको र त्यस क्षेत्रमा उद्यमशिलताको बिकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यबसायिक क्षेत्रहरुको खोजी गरि रोजगारीका अवसरहरु सिर्जना गर्नकालागि मेला कोशेढुंगा सावित हुने उहाँले विश्वास गर्नुभयो ।
मेलाका बारेमा जानकारी गराउनकालागि बुधबार मेला स्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले तिलोत्तमा नगरपालिकामा लगानी आकर्षणका लागि सन्देश दिनेगरी नगरपालिकाले लगानी सम्मेलन गरेको सन्दर्भमा लगानी अवसरका बारेमा मेलाले थप जानकारी प्रदान गर्ने बताउनु भयो । ‘लगानी कर्तालाई लगानी गर्नकालागि अफ्ठ्यारो पनि छ ।’ उहाँले भन्नुभयो–‘अन्तरक्रियाका माध्यमबाट लगानी प्रोत्साहन गर्नेगरी नगरपालिकाले कस्ता कार्यक्रम बनाएको छ, दोहोरो सम्वाद गराउने छौं ।’
१२ दिनसम्म सञ्चालन गरिने मेलाको प्रमुख आकर्षणको रुपमा परम्परागत उखुपेल्ने कोल राखिने छ । जसमा परम्परागत रुपमा गोरुले उखु पेलेर खुदोको स्वाद चखाउने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । सरकारले सञ्चालन गरेको नेपाल भ्रमण वर्ष सन् २०२० र प्रदेश सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ प्रवद्र्धन गर्नेगरी सातवटै प्रदेशका पर्यटकीय क्षेत्रहरुको बृत्तचित्र प्रस्तुत गरिने छ भने रुपन्देही र रुपन्देहीको पनि तिलोत्तमा नगरपालिका भित्रका प्रमुख पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी गराईने वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी गराउनु भयो । त्यस्तै धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकालागि सहयोग गरिने छ ।
तिलोत्तमा नगरपालिकाले नगरपालिका क्षेत्रमा शुन्य प्लाष्टिक अभियान सञ्चालन गरेको छ । नगरपालिकाले अंगाडी सारेको अभियानलाई मूर्त बनाउनकालागि मेलामा पनि प्लाष्टिक रहित बताउने प्रयत्न गरिएको संघका महासचिव कमल कंडेलले जानकारी गराउनु भयो । मेलामा लुम्बिनीको मायाँदेवी मन्दिरको प्रतिकात्मक गेट निर्माण गरिएको छ भने नेपाल कला संस्कृति भेषभुषा संरक्षणकालागि बिबिध सांस्कृतिक प्रतियोगिता, स्थानीय कलाकारहरुको कला प्रष्फूटन गराउनकालागि बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, तिलोत्तमा लोक आईडल, तिलोत्तमा डान्स आईडल, जोडी नृत्य प्रतियोगिता, बिभिन्न जातजातीका सांस्कृतिक नृत्य प्रतियोगिता लगायतका प्रतिस्पर्धा गराईने छ ।
मेला अवलोकनकालागि ५० रुपैंया शुल्क निर्धारण गरिएको छ भने बिद्यार्थीलाई परिचय पत्रको आधारमा १० रुपैंया छुटको व्यबस्था गरिएको मेला सचिवालयले जनाएको छ । त्यस्तै मेलामा बालबालिका सहित आउने महिलाहरुको सुविधाकालागि सुरक्षित स्तनपान कक्षको व्यबस्था गरिएको छ ।
सरकारले तिलोत्तमा नगरपालिका घोषणा गरेलगत्तै २०७१ सालमा स्थापित तिलोत्तमा उद्योग बाणिज्य संघले २०७३ सालमा पहिलो पटक औद्योगिक व्यापार मेला गरेको थियो । त्यसको अनुभव र सिकाईबाट अहिले त्यसैको परिस्कृत रुपमा दोस्रो औद्योगिक व्यापार मेला गर्न संघले जनाएको छ । नेपालकै अग्रणी नीजि क्षेत्रको संस्था नेपाल उद्योग बाणिज्य संघको सदस्यता प्राप्त तिलोत्तमा उद्योग बाणिज्य संघले व्यबसायिक क्षेत्रको बिकास संगसंगै स्थानीय आर्थिक तथा सामाजिक बिकासको लक्ष्य हासिल गर्न भिजन सहित बस्तुनिष्ठ योजना अंगाडी सारिएको अध्यक्ष भण्डारीले बताउनु भयो ।
