नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश पाँचको राजधानी सार्ने षड्यन्त्र नगर्न प्रदेश सरकारलाई चेतावनी दिनुभएको छ । शुक्रबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको दोस्रो औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै काँग्रेस नेता खाँणले प्रदेश राजधानी सार्ने प्रयत्न भए असहज परिस्थिती उत्पन्न हुने बताउनु भएको हो ।
प्रदेश पाँचको स्थायी राजधानी बुटवलबाट अन्यत्र सार्ने कुरा नसोच्न मुख्यमन्त्री र सभामुखलाई आग्रह गर्दै बुटवललाई अस्थायी राजधानी लहडका भरमा नतोकिएको र सार्ने प्रयत्न भए असहज परिणाम आउने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो–‘हुन त यो प्रदेश सभाको अधिकार क्षेत्रको कुरा हो, तर दलको निर्णयका आधारमा हुने भएकाले प्रदेशका मुख्यमन्त्री, सभामुख र प्रदेश सांसदहरुलाई आग्रह गर्छु, अहिलेको राजधानी बदल्न नखोजौं ।’
अन्तराष्ट्रिय पहिचान र तागत बोकेको लुम्बिनी, सुरक्षा व्यवस्था, अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, शिक्षा, स्वास्थ्य, यातायातको सुगमता आदि पर्याप्त पुर्वाधारका आधारमा प्रदेश राजधानी बुटवलको विकल्प सोच्न नहुने बताउँदै पूर्व मन्त्री समेत रहनु भएका काँग्रेस नेता खाँणले प्रदेशको राजधानी तोक्नकालागि ढिला नगर्न पनि आग्रह गर्नुभयो । भुगोलका आधारमा मध्य भागमा नै राजधानी हुनुपर्छ भन्ने मान्यता उचित नभएको र अन्य प्रदेशको पनि मध्य भागमा राजधानी नभएकाले प्रदेश ५ का हकमा पनि बुटवलबाट दायांबाया नगर्न उहाँले आग्रह गर्नुभयो ।
मिडिया काउन्सील, सूचना प्रविधि, सम्पत्तिको हक, गोपनियताको हक, मानवअधिकार लगायत जनताका अभिव्यक्ति स्वतन्त्रता र मौलिक हक कुण्ठित गर्ने खालका विधेयकहरु ल्याएर सरकार निरंकुश बन्न खोजेको उहाँले आरोप लगाउनु भयो । उहाँले मुलुकमा लगानीमैत्री वातावरण बनाउने र लगानीको सुरक्षा गर्ने दायित्व सरकारको भएपनि वर्तमान सरकारबाट यी काम हुन नसकेको र उद्योगी व्यवसायी निराश भएको औंल्याउनु भयो ।
प्रदेश सभा सदस्य रमा अर्यालले सरकारले नीजि क्षेत्र र जनताका अधिकार कटौति गर्दै निरंकुश बाटोमा अघि बढ्दा लगानीमैत्री वातावरण बन्न नसकेको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा क्षेत्र लगानीका लागि भर्जिन ल्याण्ड रहेको उल्लेख गर्दै लगानीकर्तालाई रोजगारी र लगानीका आधारमा कर छुट लगायत सुविधा दिइएको बताउनुभयो ।
महोत्सव आयोजक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले मेला सञ्चालनका लागि आफ्नै जग्गा र स्थायी संरचना नहुंदा जग्गा र अस्थायी संरचनामा हरेक वर्ष लाखौं रुपैयां अनुत्पादक रुपले खेर गइरहेको बताउँदै स्थानीय उत्पादनको बजारिकरण, कृषि र पर्यटन प्रवद्र्धन र यस क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न ‘तिलोत्तमामा लगानी समृद्धिको सुनौलो बिहानी’ नारा तय गरिएको जानकारी गराउनु भयो ।
कार्यक्रमको उद्घाटनमा पुर्वमन्त्री अब्दुल रज्जाक, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, व्यवसायी बालकृष्ण भुसाल, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, तिलोत्तमा ५ का अध्यक्ष चेतनारायण भण्डारी, संघका सल्लाहकार चन्द्रमान श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, महासचिव कमलप्रसाद कंडेल लगायतले भनाई राख्नुभएको थियो ।
महोत्सव उद्घाटनअघि झाँकी सहित चेतनामुलक ¥याली निकालिएको थियो । माघ २१ गतेसम्म चल्ने महोत्सवमा तीन सय स्टल रहेका छन् । महोत्सव पांच लाख दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैया बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ । महोत्सवमा शनिबारदेखि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र सांगीतिक कार्यक्रम सञ्चालन हुने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले जानकारी दिनुभयो ।
