नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक मुल्य र मान्यतालाई कमजोर बनाउने गरी सरकारले बिभिन्न बिधेयकहरु ल्याएको आरोप लगाउनु भएको छ । उहाँले सरकारले प्रेस स्वतन्त्रतामा कुण्ठित गर्नकालागि सूचना प्रविधि बिधेयक ल्याएको बताउँदै नेपाली काँग्रेस सधै त्यसको बिरुद्धमा रहने बताउनु भयो ।
नेपाली काँग्रेसका नेता प्रदेश पाच संसदीय दलका नेता स्वर्गीय बलदेव शर्मा पोखरेलको निधन भएको १३ दिनको दिन नेपाली काँग्रेस रुपन्देहीले उहाँको निवास तिलोत्तमा १४ टिकुलीगढमा आयोजना गरेको शोक सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले प्रेस स्वतन्त्रताको पक्षमा नेपाली काँग्रेस मात्रै रहेको दावी गर्नुभयो ।
प्रजातान्त्रिक आन्दोलनमा नेता पोखरेलले पु¥याएको योगदनाको चर्चा गर्दै सभापति देउवाले उहाँको निधनले सिंगो पार्टीमात्रै नभएर सिंगो मुलुकलाई नै क्षती पुगेको औंल्याउनु भयो । सभापति देउवाले स्वर्गीय पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गर्नुभएको थियो ।
त्यस्तैगरी नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोईरालाले मृत्यु सत्य रहेकाले मृत्युलाई पनि आत्मसाथ गरि उहाँले देखाएको बाटोमा अंगाडी बढ्न सकेमात्रै सच्चा श्रद्धाञ्जली हुने बिचार व्यक्त गर्नुभयो । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले स्वर्गीय बलदेव शर्माले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानकै कारण उहाँको सम्मानमा प्रदेश सभामा संसदीय दलको नेता बनाईएको बताउनु भयो । स्वर्गीय बलदेव शर्माले संविधानको प्रतिकुल हुनेगरी सरकारले लोकतान्त्रिक मुल्यमान्यतालाई कमजोर बनाउने काम गरेको र त्यसका बिरुद्ध ससक्त रुपमा पार्टी लाग्नुपर्ने भएकाले प्रदेश र संघमा पनि प्रतिपक्षको भूमिकालाई ससक्त बनाउन आफूसंग सल्लाह गर्ने गरेको नेता खाँणले स्मरण गर्नुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको शोक सभामा नेपाली काँग्रेसका नेता संघीय संसद लेखा समितिका सभापति भरतकुमार शाह, संघीय सभा सदस्य प्रमोदकुमार यादव, नेपाली काँग्रेस पाल्पाका सभापति तथा प्रदेश सभा सदस्य बिरबहादुर राना, प्रदेश काँग्रेस संसदीय दलका उपनेता बिरेन्द्र कनौडीया, गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा स्वर्गीय बलदेव शर्माका भाई ईश्वरचन्द्र पोखरेलले दाजुको जीवनीका बारेमा जानकारी गराउँदै बिद्यार्थी कालदेखि नै निरन्तर प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएका पोखरेलले जेलजिवन समेत बिताउनु भएको जानकारी गराउनु भएको थियो । १९९४ माघ १९ मा प्युठानमा जन्मीनुभएका पोखरेल बिद्यार्थीकालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा होमिएका कारण २०१७ मा राजा महेन्द्रको कु पछि भूमिगत हुनु परेको र भूमिगत भएकै बेला भारतको बनासरबाट प्रक्राउ परि नेपालगञ्ज कारागारमा २ वर्ष जेलजिवन बिताउनु परेको थियो । जेलबाट रिहा भएपछि उहाँ सहित परिवार रुपन्देहीको टिकुलीगढमा आएर बसोबास गर्नुकासाथै प्रजातान्त्रिक आन्दोलनलाई निरन्तरता दिनुभएको थियो ।
त्यस समयमा उहाँ प्रवासमा रहेका नेताहरु गणेशमान, किशुनजी, बिपी र गिरिजाप्रसाद कोईरालासंग निरन्तर सम्पर्कमा रहेन गरेकाले नेताहरुका बारेमा सुराकी गरे मासिक तलवका अफर समेत आएको भाई ईश्वरचन्द्रले जानकारी गराउनु भयो । प्रजातान्त्रिक आन्दोलनका योद्धा यादवनाथ आलोकसंग घनिष्ट सम्वन्ध रहेका कारण उहाँहरु आपसमा सम्धि भन्ने गर्नुहुन्थ्यो । रुपन्देही सुरजपुरा काण्डमा यादवनाथ आलोकको निधन भएपछि आलोककी छोरी विजया र बलदेवका जेठा छोरा रामराजसंग विवाह समेत गरिदिएका थिए ।
२०७४ को प्रदेशसभा निर्वाचनमा समानुपातिकबाट प्रदेश सभा सदस्य हुनुभएका स्वर्गीय बलदेवले सभामुख चयन नहुँदासम्म जेष्ठताका आधारमा सभामुखको समेत भूमिका निर्वाह गर्नुभएको थियो भने लगत्तै उहाँलाई नेपाली काँग्रेस प्रदेश सभामा संसदीय दलको नेता चयन गरेको थियो । एक्कासी उहाँलाई फोक्सोमा क्यान्सर देखिएपछि उपचारकै क्रममा यहि माघ ६ गते निधन भएको थियो ।
