मावन सेवा आश्रमले बुटवलमा ‘मानवीय स्मारक’ भवन निर्माणकालागि आयोजना गरेको ज्ञान बिज्ञान महायज्ञको तयारी पुरा भएको जनाएको छ । महायज्ञ आयोजक मुल समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरि यज्ञ तयारीको काम अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
मानव सेवा आश्रमले (माननीय स्मारक) भवन निर्माण तथा अक्षयकोष स्थापनाको लागि सहयोग संकलन गर्ने उद्देश्यले भोली सोमबारदेखि ज्ञान बिज्ञान महायज्ञ आयोजना गरेको छ । यहि माघको २७ गतेसम्म सञ्चालन गरिने महायज्ञमा ११ करोड दान संकलन गर्ने समेत लक्ष्य राखिएको मुल आयोजक समितिका संयोजक लोकनाथ भुसालले जानकारी गराउनु भयो ।
यस बिचमा महायज्ञको प्रचारप्रसारको उद्देश्य सहित बुटवल उपमहानगरपालिका सहित छिमेकी नगरपालिकाहरुमा आमा सेमिनार तथा मानव सेवा आश्रम र यसका भालि योजनाका बारेमा जानकारी गराउने काम भईरहेको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनु भयो । त्यस्तै प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु, स्थानीय तहका प्रमुख उपप्रमुख वडा अध्यक्ष तथा सदस्यहरु, सामाजिक संघसंस्था तथा सरकारी कार्यालयहरुमा निमन्त्रणा पठाउने काम पुरा भएको पनि उहाँले जानकारी गराउनु भयो ।
आठ दिनसम्म सञ्चालन गरिन ज्ञान बिज्ञान महायज्ञमा थप उत्साह बढाउनकालागि आश्रमका सद्भावना दुत मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य), हास्य कलाकार मनोज गजुरेल सहित सामाजिक अभियान्ताहरु, राजनीतिज्ञ एर्व धार्मिक सम्प्रदायका धर्मगुरुहरु समेत सहभागि हुनुहुने उहाँले बताउनु भयो । त्यस्तै पण्डित कमलनयन गौतमले कथा बाचन गर्नुहुनेछ ।
महायज्ञ सम्पन्न गर्नकालागि २५ देखि ३० लाख रुपैंयाँ लाग्ने अनुमान गरिएको छ । ११ करोड रुपैंया आर्थिक संकलन गर्ने अभिष्ट राखेर आयोजना गरिएको महायज्ञमा दैनिक सरदर ५ हजार जना परोपकारी व्यक्तिहरु सहभागि हुने अनुमान गरिएको महायज्ञ मुल आयोजक समितिका महासचिव माधव नेपालले जानकारी गराउनु भयो । सबै धर्म सम्प्रदायका धर्मगुरुहरुलाई आमन्त्रण गरि सबै सम्प्रदायमा रहेका साझा बिषयहरु दया, मायाँ, करुणा, अहिंसा, मानवता, परोपकार जस्ता बिषयमा प्रवचन गराई धार्मिक सहिष्णुताको प्रवद्र्धन गर्दै मानवता बोध गराउन समेत महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बिश्वास गरिएको छ ।
यहायज्ञको पहिलो दिन महायज्ञस्थल (बुटवल सुख्खानगर)बाट ‘मानवता प्रवद्र्धन यात्रा’को रुपमा शोभा कलशयात्रा निकाली बुटवल नगर परिक्रमा गराईने छ । बिना योजना भावनाबाट सुरु भएको ‘मानव सेवा’ अभियानमा अहिले पनि सरकारबाट प्रभावकारी सहयोग हुन नसकेको बताउँदै आश्रमका अध्यक्ष अधिकारीले सरकारलाई दायित्व बोध गराउन सफल भएको बताउनु भयो । आफूहरुको अभियानमा सरकारले दायित्व बोध गरेकै कारण नीति तथा कार्यक्रममा समेत समावेश गरेर जग्गा तथा भवन निर्माणकालागि बजेट व्यबस्था गर्न थालेको उहाँले बताउनु भयो ।
हेटौडामा मुख्य कार्यालय रहेको मावन सेवा आश्रमको हाल सात प्रदेशका १४ जिल्लामा १९ वटा आश्रम सञ्चालन गरिएको छ भने आजको मितिमा १ हजार १ सय भन्दा बढी सयोगापेक्षी सडक मानवलाई आश्रममा सेवा प्रदान गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।