हाम्रो सगरमाथा सहकारीमा शेयर सदस्यका अभिभावक ‘जेष्ठ नागरिक’लाई सम्मान

1.1K

हाम्रो सगरमाथा सहकारीमा शेयर सदस्यका अभिभावक ‘जेष्ठ नागरिक’लाई सम्मान

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ शंकरनगरमा रहेको हाम्रो सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यका अभिभावकलाई सम्मान गरेको छ । संस्थाको १४ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना गरिएको कार्यक्रममा शेयर सदस्यका अभिभावक ७५ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
त्यस अवसरमा संस्थाका शेयर सदस्य अनिल अर्यालका बुवा ७५ वर्षीय लोकनाथ अर्याल, मायाँदेवी गैरेका बुवा ७५ वर्षीय तारापती जैसी, सुनिता भुसालका वुवा ७६ वर्षीय रामचन्द्र ढकाल, बेलबहादुर खड्काकी आमा ७६ वर्षीय केसी खड्का र थमसरा भट्टराईका बुवा ८२ वर्षीय चुडामणी पाण्डेलाई संस्थाका अध्यक्ष गुरुप्रसाद पौडेल र संस्थापक अध्यक्ष टेकबहादुर थापाले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले सहकारीले उत्पादन मुलुक क्षेत्रमा लगानी गर्नुपर्ने र उत्पादित बस्तुलाई बजारसंग जोड्ने काम गर्नुपर्ने बताउनु भयो । त्यस्तैगरी संस्थाका शेयर सदस्यहरु पनि क्रियाशिल हुन सुझाव दिनुभयो ।
हाल उक्त संस्थामा ७१३ जना शेयर सदस्य रहेका छन् भने निकट भविश्यमा सोही वडाको जागृती बचत तथा ऋण सहकारी संस्थासंग मर्जरकालागि प्रकृया अंगाडी बढेको अध्यक्ष गुरुप्रसाद पौडेलले बताउनु भयो । दुई संस्था बिचको मर्जरको फाईल नगरपालिकामा पुगेको छ ।
सोही संख्यामा शेयर सदस्य रहेको जागृतीसंग मर्जरपछि संस्थाको नाम ‘हाम्रो जागृती सगरमाथा वचत तथा ऋण सहकारी संस्था’ हुने व्यबस्थापक कृष्णप्रसाद भुलालले जानकारी गराउनु भयो । त्यस्तै संस्थाको अध्यक्ष पनि हाम्रो सगरमाथाका गुरुप्रसाद पौडेल हुनुहुनेछ । बार्षिकोत्सव कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष कृष्णबहादुर केसी, सचिव हेमबहादुर क्षेत्री, कोषाध्यक्ष तोलाकान्त डुम्रे लगायतले भनाई राख्नुभएको थियो ।