सूचना प्रविधि मेला सकियो : ओभरनाईट ह्याकाथुनको उपाधि एफ–शोसाईटीलाई

712

सूचना प्रविधि मेला सकियो : ओभरनाईट ह्याकाथुनको उपाधि एफ–शोसाईटीलाई

बुटवलमा सञ्चालित क्यान ईन्फोटेकममा आयोजना गरिएको ‘ओभरनाईट ह्याकाथुन प्रतियोगिता’को उपाधि एफ–शोसाईटीले प्राप्त गरेको छ । हार्ड कोरिङ् मार्फत सफ्टवेयर÷एप्लिकेशन बनाउने २४ घण्टे प्रतियोगितामा एफ–शोसाईटीका तर्फबाट प्रवशे पुडासिनी, स्वेता महर्जन, बिपिन भण्डारी र आबृत्ति श्रेष्ठ चार जना सहभागि थिए । प्रतियोगितामा प्रथम भएको एफ–शोसाईटीलाई ५० हजार रुपैंया नगद, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको छ ।
क्यान रुपन्देहीले आयोजना गरेको सूचना प्रविधि मेला (क्यान ईन्फोटेक)मा सञ्चालन गरिएको प्रतियोगितामा एनसी (नेपथ्य कलेज)–पिटिपी द्वितीय भएको छ । त्यस समुहमा तिलक पौडेल, प्रदिप बिक, अशोक धवल र प्रकाश भट्टराई सहभागि थिए । प्रतियोगितामा द्वितीय भएको उक्त टिमलाई २० हजार नगद सहित प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा आरबिसी लेक तृतीय भएको छ । आरबिसी लेकको तर्फबाट सन्जोक ज्ञवाली, मधुसुधन भट्टराई, किसन महत र विवेश अधिकारी सहभागि भएका थिए । प्रतियोगितामा तृतीय टिमलाई १० हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
उनीहरुलाई क्यान ईन्फोटेकको समापनको अवशरमा आयोजना गरिएको कार्यक्रममा क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतम र सूचना तथा प्रविधि प्रतिष्ठान प्रदेश पाँचका महाप्रवन्धक अनुप बासकोटाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । त्यसबाट फाईनलकालागि ५ टिमलाई छनौट गरिएको प्रतियोगिताका संयोजक सुदिप ढकालले बताउनु भयो ।
कार्यक्रममा बोल्दै महाप्रवन्धक बासकोटाले सूचना प्रविधिको बिकासकालागि पूर्वाधार बिकास, ई–गभर्नेन्स प्रणाली र नीजि क्षेत्रले गर्ने योगदान महत्वपूर्ण हुने बताउनु भयो । उहाँले अव सरकार र नीजि क्षेत्र दुबैले प्रदेशमा सूचना प्रविधिको बिकास र त्यसका माध्यमबाट रोजगारी कसरी अभिबृद्धि गर्न सकिन्छ ? त्यसतर्फ सोंच्नुपर्ने बताउनु भयो । त्यसकालागि प्रदेश सरकार र प्रतिष्ठान प्रतिवद्ध रहेको बताउँदै उहाँले नीजि क्षेत्रलाई पनि सहकार्यकालागि आग्रह गर्नुभयो ।
क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमको अध्यक्षतामा भएको ईन्फोटेकको समापन कार्यक्रममा क्यान महासंघका केन्द्रीय सदस्य सुदिप शर्मा, क्यान महासंघ प्रदेश पाँचका अध्यक्ष रोषन कंडेल, साविक क्यान महासंघ लुम्बिनीका पूर्व सचिव तथा नेपाल जेसीजका पूर्व अध्यक्ष श्रीधर बस्याल, पुस्तक तथा स्टेशन व्यबसायी संघ रुपन्देहीका अध्यक्ष त्रिलोचन ज्ञवाली, क्यान महासंघ रुपन्देहीका उपाध्यक्ष बिरबहादुर क्षेत्री, स्पोन्सरको तर्फबाट भिम राना र बिजय अधिकारी लगायतले भनाई राख्नुभएको थियो ।
बुटवल बहुमुखी क्याम्पस प्राङ्गढमा ५ दिनसम्म सञ्चालन गरिएको क्यान ईन्फोटेक (सूचना प्रविधि मेला)मा ३ सय स्टल सहभागि थिए । विश्व बजारमा आएका नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको क्यान मेलामा १ लाख ५० हजार दर्शकले मेला अवलोकन गरेको क्यान महासंघ रुपन्देहीका सचिव जीवन अधिकारीले जानकारी दिनुभयो ।
त्यसै अवसरमा मेलामा आयोजना गरिएका बिभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट स्टल कम्प्युटर सर्भिस सेन्टर र स्पोन्सर तर्फ उत्कृष्ट एक्स जोन हिकभिजनलाई सम्मान गरिएको थियो । त्यस्तैगरी मेलामा सहयोग गर्नेहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो ।