‘मानवीय स्मारक’ भवन निर्माणार्थ आयोजित महायज्ञमा साढे तीनकरोड बढी संकलन

‘मानवीय स्मारक’ भवन निर्माणार्थ आयोजित महायज्ञमा साढे तीनकरोड बढी संकलन

बुटवलमा ‘मानवीय स्मारक’ भवन निर्माणार्थ आयोजना गरिएको महायज्ञमा साढे तीन करोड रुपैंया बढी दान संकलन भएको छ । मानव सेवा आश्रमको आयोजनामा यहि माघ २० देखि २७ गतेसम्म सञ्चालन गरिएको महायज्ञमा ३ करोड ६७ लाख रुपैंया दान संकलन भएको र सहयोग प्राप्त हुने क्रम जारी रहेको महायज्ञ आयोजक मुल समितिका संयोजक लोकनाथ भुसालले जानकारी गराउनु भयो ।
बेसहारा सहयोगापेक्षी सडकमानवहरुको जीवन रक्षाको लागि मानवसेवा आश्रम ५ नं. प्रदेश शाखाको आफ्नै भवन निर्माणकालागि गरिएको ज्ञान बिज्ञान महायज्ञमा रुपन्देही बासी र प्रदेश तथा स्थानीय सरकारबाट प्राप्त सहयोगका कारण भवन बन्ने निश्चित भएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनु भयो । महायज्ञको सुरुको दिनदेखि नै जनसहभागिता उत्साहजनक रहेको बताउँदै उहाँले जनसहभागिता, साथ र सहयोगले आफूहरुलाई उत्साहित बनाएको उल्लेख गर्नुभयो ।
महायज्ञ समापनका अवसरमा बोल्दै प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले मानव सेवा आश्रमको भवन सरकारले बनाईदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यस्तैगरी बुटवल उपमहानगरपालिकाले ३१ लाख, तिलोत्तमा नगरपालिकाले २० लाख र सिद्धार्थनगर नगरपालिकाले ११ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गरेको मानव सेवा आश्रम प्रदेश पाँचकी संयोजक सुशिला केसीले जानकारी गराउनु भयो ।
महायज्ञलाई सफल पार्न मानवसेवा आश्रमका सद्भावनादुत मदनकृष्ण श्रेष्ठ र हरीबंश आचार्य समेत बुटवल आउनु भएको थियो ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares