बिबिध कार्यक्रमसहित बुटवल उद्योग बाणिज्य संघको स्थापना दिवस मनाईँदै

1.5K

बिबिध कार्यक्रमसहित बुटवल उद्योग बाणिज्य संघको स्थापना दिवस मनाईँदै

यस क्षेत्रकै सबैभन्दा पुरानो नीजि क्षेत्रको संस्था बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ६७ औं स्थापना दिवस बिबिध कार्यक्रम गरि मनाईँदै छ । यस क्षेत्रका उद्योगी व्यबसायीहरुको पहलमा २००९ साल फागुन १० गते बुटवल उद्योग बाणिज्य संघको स्थापना भएको थियो ।
संघको ६७ औं स्थापना दिवसको अवसरमा रक्तदान, दीपावली तथा व्यबसायिक समस्याका बिषयमा बहस अन्तरक्रिया लगायतका कार्यक्रम गरेर मनाउन लागिएको संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । संघ सचिवालयमा आईतबार बसेको कार्यसमितिको बैठकले स्थापना दिवस मनाउने निर्णय गर्दै त्यसकालागि कार्यसमिति सदस्य प्रकाशकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
संघको स्थापना दिवसको अवसरमा फागुन १० गते शनिबार संघका बस्तुगत समितिहरुको संयोजनमा रक्तदान कार्यक्रम गरिने छ । रक्तदान कार्यक्रमकालागि ईन्धन बस्तुगत समितिका सभापति नारायण खनाललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तैगरी सोही दिन साँझ संघमा दीपावली कार्यक्रम गरिने छ भने ११ गते आईतबार व्यबसायिक समस्याका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिने छ ।
त्यसै कार्यक्रममा संघका पूर्वअध्यक्ष महेशकुमार राजभण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । संघले प्रत्येक स्थापना दिवसमा पूर्वअध्यक्षहरुममध्येबाट १ जनालाई सम्मान गर्दै आएको छ । यो वर्ष पूर्वअध्यक्ष राजभण्डारीलाई सम्मान गर्ने निर्णय गरेको हो ।
त्यस बाहेक पनि संघको स्थापना दिवसको अवसरमा रचनात्मक कार्यक्रम गर्न संघलले बस्तुगत समितिहरुलाई आह्वान गरेको संघका अध्यक्ष हमालले बताउनु भयो । कार्यसमितिको बैठकपछि संघकै सचिवालयमा बस्तुगत समितिका सभापतिहरुसंग पनि स्थापना दिवसकै अवसरमा छलफल गरिएको थियो । छलफलमा बस्तुगत समितिका सभापतिहरु समितिका तर्फबाट रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।