पर्यटकीय तालपोखरामा डुङ्गा दौड प्रतियोगिता हुदै

924

पर्यटकीय तालपोखरामा डुङ्गा दौड प्रतियोगिता हुदै

सुशीला रेग्मी/

भ्रमण वर्ष २०२० को अवसरमा पाल्पा रामपुरको पर्यटकिय तालपोखरामा डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाल सरकारको एक सय पर्यटकिय गन्तव्यस्थलका रुपमा छनौटमा परेको तालपोखरामा भ्रमण वर्षलाई लक्षित गरी डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको हो ।
तालपोखरा संरक्षण विकास समितिको आयोजनामा फागुन ८ गते तालपोखरामा डुङ्गामा दौड प्रतियोगिताको तयारी भएको छ । प्रतियोगितामा सहभागीले काठको मात्र डुङ्गा प्रयोग गर्नुपर्ने हुन्छ । एक वटा डुङ्गामा दुई जनाले मात्र सहभागीता जनाउन पाउनेछन् । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन र रामपुरमा आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउन तालपोखरामा डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको तालपोखरा संरक्षण विकास समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो ।
“ताल वरिपरी डुङ्गामा दौडनु पर्नेछ, जस्ले छोटो समयमा ताल पार गर्छ उसलाई विजेता गराइनेछ, धेरै भन्दा धेरै पर्यटक रामपुर भित्र्याउन यो कार्यक्रम आयोजना गरेका हौँ” अध्यक्ष देवकोटाले भन्नुभयो । प्रतियोगितामा प्रथम पुरस्कार नगद सात हजार, द्धित्तिय पुरस्कार पाँच हजार, तृत्तिय पुरस्कार तीन हजार रहेको छ । समितिले गतवर्ष पनि डुङ्गा दौड प्रतियोगिता आयोजना गरेको थियो । डुङ्गा दौड प्रतियोगिताका लागि अहिले तालपोखरा वरपरको वातावरण सरसफाई गर्ने कामहरु भइरहेको छ ।
फागुन ९ गते शिवरात्री पर्वका अवसर पारी फागुन ८ गते डुङ्गा दौड र अन्य दिन रामपुर क्षेत्रका प्रचलित भजनकृत, पुजापाठ, सांस्कृतिक कार्यक्रम गरेर मनाइने तयारी रहेको समितिले जनाएको छ । रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने कमै हुन्छन् । यहाँ आएका पर्यटकको पहिलो रोजाइ र घुम्ने थलोनै अहिले तालपोखरा बनेको छ ।
वातालको स्वरुपमा रहेको तालपोखराले आकारमा सानो भएपनि छोटो समयमा नै पर्यटकको मन लोभ्याउन सफल भएको छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचार सुनेर, हेरेर तालपोखरा आउने आन्तरिक पर्यटकको उपस्थिति दिनहुँ बढ्दै गएको छ । यो वर्ष रामपुर नगरपालिकाले रु २० लाख र नेपाल पर्यटन बोर्डबाट स्तरोन्नति शीर्षकमा रु २० लाख सहयोग रकमबाट तालपोखराको स्तरोन्नति गरिएको हो । करीब रु ४५ लाख बराबरको मर्मत कार्य सम्पन्न भएको छ भने अब बाँकी अझै रु एक करोड २५ लाखको काम रहेको समितिले जनाएको छ । अहिलेसम्म तालपोखराको पर्यटन विकासमा करीब तीन करोडको काम भइसकेको छ ।
तालपोखरालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै जाँदा यसले समग्रमा कालीगण्डकी वेंशी क्षेत्रकै पहिचान बढाएको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो । “नगरपालिकाले पनि पर्यटन विकासका लागि बिशेष प्राथमिकता दिएर वजेट विनियोजन गरेको छ, तालपोखराको विकास भएकै कारण धेरै पर्यटक रामपुर भित्रने गरेका छन्” उहाँले भन्नुभयो ।
प्रतिव्यक्ति रु ५० टिकट कायम गरिएको छ । तालपोखरा वरपर डुङ्गामा घुम्ने, तालको बीच भागमा रहेको जलेश्वर महादेवको मन्दिर दर्शन गरेर फर्कने गरेको पाइन्छ । कोही घण्टौँसम्म मन्दिर परिसरमा रहेको पार्कमा रमाएर फर्कने गर्छन् । तालपोखरामा सेल्फी जोन निर्माण गरिएपछि फोटो खिचाउनेको भीड लाग्ने गरेको छ । स्थानीय कुलो, नहर, खोल्सीबाट पानी पर्याप्त नभएपछि नजिकै बहेको कालीगण्डकीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गरिएको छ । डुङ्गा सञ्चालनबाट स्थानीयलाई रोजगारीको अवसर मिलेको छ ।
दैनिक डुङ्गाबाट सरदरमा पाँच हजार आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर डुङ्गाबाट मासिक रु एक लाख ३५ हजार आम्दानी भइरहेको छ ।
सामान्य वर्षाद्को पानी जम्मा हुने खाडलका रुपमा रहेको तालपोखरालाई यहाँका स्थानीयले पर्यटकीय क्षेत्रका रुपमा विकास गरेका हुन् । झण्डै ७० रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र पहिला पानी जम्मा हुने खाडका रुपमा रहेपनि अहिले भने प्रशस्त आम्दानी गर्ने गतिलो माध्यम बनेको छ ।
महायज्ञबाट केही आम्दानी सङ्कलन गरी विसं २०६६ बाट पर्यटन विकासका काम थालनी गरिएको संस्थापक अध्यक्ष देवराज देवकोटा बताउनुहुन्छ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका आन्तरिक पर्यटक यहाँ अवलोकन गरेर फर्कने गरेका छन् ।