रामपुरमा निर्माण गरिएको गौशाला संचालनमा, नगर प्रमुख थापाबाट उद्घाटन

रामपुरमा निर्माण गरिएको गौशाला संचालनमा, नगर प्रमुख थापाबाट उद्घाटन

सुशीला रेग्मी /

गौमाता तथा छाडा रुपमा छाडिएका गाईको संरक्षण गर्न रामपुरमा निर्माण गरिएको गौशाला संचालनमा आएको छ । रामपुर क्षेत्रमा छरिएर रहेका गाईहरु तथा कृषकले उत्पादन दिन छाडेपछि अन्यत्र लगेर अलपत्र छाडिएका गाईहरु संरक्षण गर्न निर्माण गरिएको गौशाला शुक्रवार देखि संचालनमा ल्याइएको हो ।
रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाममा नगरपालिकाले निर्माण गरेको गौशालामा करिव ६० वटा गाई बाँधेर उद्घाटन गरिएको छ । सो गौशालाको नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै हिन्दु धर्म संस्कृती अनुसार गाईलाई माताका रुपमा मानेर पुजाआजा गरिने भएकाले यसको संरक्षण गर्न नगरपालिकाले गौशाला निर्माण गरेको बताउनुभयो । गाईलाई उत्पादन दिदा सम्म प्रयोग गर्ने र उत्पादन दिन छाडेपछि अन्यत्र लगेर छाड्ने प्रवृत्ति रहेकाले यसको संरक्षणमा नगरले जोड दिएको नगर प्रमुख थापा बताउनुहुन्छ ।
गौशाला निर्माण गर्न रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा रु २० लाख र आर्थिक वर्ष ०७६÷०७७ मा रु २० लाख रकम विनियोजन गरी निर्माण कार्य थालनी गरिएको हो । अहिले ट्रष्ट निर्माण, चारैतिर घेराबार, गाई बाँध्ने काम सम्पन्न भएपछि गाईलाई गौशाला परिषरमा लगेर बाँध्न थालिएको हो ।
गौशाला सम्पन्न नहुदा सम्मका लागि साउनबाट वडा नं ६ को कार्यालय परिषरमा नै अस्थायी बारबन्देज गरेर दुई जना हेरालु राखेर गाईहरु संरक्षण गरेर राखिएको थियो । रामपुर नगरपालिका क्षेत्रमा छाडा गाईले कृषकका खेतबारीमा पुगेर अन्नबाली खाएर सताउन थालेपछि गौशाला निर्माण सुरु गरिएको हो ।
करिव पन्ध्र रोपनी क्षेत्रफलमा गौशाला निर्माण गर्ने काम भएको छ । गौशाला परिषरमा गाई लगेर बाँध्न थालेपछि यहाँका कृषकहरु अहिले खुशी भएका छन् । खेतबारीमा लगाइएका अन्नबाली खाएर रातदिन सताएर उत्पादन नै लिनै नसक्ने अवस्था रहेको कृषक गंगा बस्यालले बताउनुभयो । गाईलाई गौशालामा लगेर बाँध्न थालेपछि ढुक्क संग खेतीपाती लगाउन पाइने भएपछि कृषकमा उत्साह बढेको उहाँको भनाई छ ।
गौमाता संरक्षण गर्न रामपुर नगरपालिकाको आयोजनामा यही फागुन १२ गते देखि २० गते सम्म हुने श्रीमदभागवत नवाह ज्ञान महायज्ञ हुदैछ । गौशाला निर्माण कार्यलाई बढाउन र यहाँ धर्मशाला बनाउनका लागि आर्थिक संकलन गर्ने उद्धेश्यले महायज्ञ आयोजना गरिएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो ।
महायज्ञ अवधीभर रु पाँच करोड दान संकलन गर्ने लक्ष्य रहेको न्यौपानेले बताउनुभयो । महायज्ञबाट उठेको रु पाँच करोड रकममध्ये तीन करोड रकम धर्मशाला निर्माणमा खर्च गर्ने र बाँकी दुई करोड रकम गौशालाको दीगो विकासका लागि प्रयोग गरिने उहाँले बताउनुभयो ।
एक जना अपाङ्गमैत्री र एक सय जना अन्य व्यक्ति अट्ने खालको सुबिधा सम्पन्न धर्मशाला बनाउने योजना छ । तातोपानीधाममा निर्माणाधिन अवस्थामा रहेको गौशाला परिषरमा हुने भएको महायज्ञमा पण्डित नारायणप्रसाद न्यौपानेले संगितमय शैलीमा कथावाचन गर्नुहुनेछ । महायज्ञको प्रचार प्रसारको कामलाई तीव्र रुपमा अगाडी बढाइएको प्रचार प्रसार उपसमितिका संयोजक दुर्गेश मल्लले बताउनुभयो ।

Share This
  • 122
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    122
    Shares