आजको त्रिपक्षिय वैठकबाट सकारात्मक परिणमको अपेक्षा

376

आजको त्रिपक्षिय वैठकबाट सकारात्मक परिणमको अपेक्षा

a

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेस क्षेत्रमा जारी आन्दोलनको समाधान खोज्न सत्तारूढ दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको त्रिपक्षीय वार्ता आह्वान गरेका छन्।

मधेसमा जारी आन्दोलन सुल्झाउन सरकार गम्भीर नभएको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजेका लागि वार्ता बोलाएका हुन्।

प्रधानमन्त्रीले वार्ताका लागि तोकेको समयमा भने आन्दोलनरत मोर्चाआबद्ध तीन दलका अध्यक्षले सुनसरीको देवानगन्जमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। तराई–मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर मात्र काठमाडौंमा छन्। ‘वार्तामा मोर्चाका घटक दलका सबै अध्यक्ष सहभागी हुन्छौं,’ विराटनगरमा रहेका तराई–मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्रराय यादवले टेलिफोनमा भने, ‘सुनसरीको सभालाई सम्बोधन गरेर काठमाडौं जान्छौं।’

मोर्चाले आइतबार विराटनगरको शक्ति प्रदर्शन गरेको थियो। मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपाका अध्यक्ष यादवले विराटनगरको सभालाई सम्बोधन गरेका थिए।

यसअघि मंसिर २ गते संविधानसभाका प्रमुख दल तथा मधेसी मोर्चाबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो। ‘प्रमुख दलबाट हाम्रो ११ बुँदे मागका सम्बन्धमा ठोस प्रस्ताव आओस् र चाँडै सहमति होस् भन्ने पक्षमा छौं,’ यादवले भने, ‘यसबीच अनौपचारिक छलफल भएका छन् तर मागबारे सकारात्मक धारणा आउन सकेको छैन।’ उनले आफ्ना माग सम्बोधनको विषयमा ठोस प्रस्ताव प्रतीक्षा गरिरहेको बताए।

पछिल्लो समयमा उच्चस्तरीय राजनीतिक संयन्त्रका प्रमुख रहेका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ, विपक्षी र आन्दोलनरत पक्षबीच वार्ता गरिरहेका छन्। ‘अहिले एकीकृत नेकपा माओवादीका अध्यक्षले नै सत्तारूढ दलका तर्फबाट छलफल चलाइरहनुभएको छ, छलफलको विषयमा प्रधानमन्त्रीलाई पनि जानकारी छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने।

एमाओवादी अधयक्ष दाहालले शनिबार कांग्रेस सभापति सुशील कोइरालापछि प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। आइतबार पार्टीनिकट कर्मचारी संगठनको महाधिवेशन उद्घाटन गर्दै एमाओवादी अध्यक्ष दाहालले तराईमा जारी आन्दोलनको तत्काल निकास निकाल्न प्राथमिकता साथ काम गरिरहेको बताएका छन्। शनिबार कांग्रेस सभापति र प्रधानमन्त्री ओलीसँग भएको भेटमा दाहालले एकमुष्ट रुपमा सबै विषयमा मधेसी मोर्चासँग सहमति हुनुपर्ने प्रस्ताव गरेका थिए।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आन्दोलनरत पक्षबीच यस विषयमा धेरै चरणमा अनौपचारिक वार्ता भएकाले सोमबारको वार्ताबाट परिणामको अपेक्षा गरेको बताए। ‘वार्ता निर्णायक चरणमा पुगेको छ, विषयवस्तुलाई गोप्य राखेर प्रमुख नेताबीच वान टु वान अनौपचारिक वार्ता भएका छन्, मधेसी मोर्चाका नेतासँग पनि अनौपचारिक वार्ता भएको छ,’ रिमालले भने, ‘वार्ताका के के प्रस्ताव जान्छ भनेर अहिले भन्न सकिने अवस्थामा छैन।’ रिमालले सत्तारुढ दलमात्रै नभएर मधेसी मोर्चाका नेता पनि लचिलो भएर प्रस्तुत भए समस्या समाधान हुने बताए।